
काठमाण्डु, १७ वैशाख– बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत संलग्नता भेटिएको छ ।
सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनएका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको हो । ‘एनआरएनका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य गरेको थाहा पाउनासाथ हामीले यो सरकारी जग्गा हो, नकिन्नुहोस् पनि विवाद आउँछ भनेका थियौं’, बालुवाटारको जग्गाका जानकार एक स्थानीयले भने, ‘त्यतिले समेत विश्वास नहोला भनेर आवश्यक कागजात र अन्य विवरण बुझाएका थियौं, तर जबर्जस्ती किनेरै छाडे ।’ जग्गाको कागजातबारे प्रश्न उठेपछि एनआरएनका पदाधिकारीले वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई कागजात देखाएका थिए । उनले ‘ग्रिन सिग्नल’ दिएपछि खरिद भएको एनआरएनएका एक पदाधिकारीले बताए ।
जग्गा खरिद प्रक्रियामा एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेसहित उपाध्यक्ष भवन भट्ट र अर्का गैरआवासीय नेपाली सोनाम लामालगायत सक्रिय भएको श्रोतले बतायो । उनीहरुले करिब १२ करोड रुपैयाँमा जग्गा खरिद गरेका थिए । कान्तिपुर दैनिकबाट