
काठमाण्डु, १६ वैशाख – विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन् । लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।
केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताएका थिए ।
सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।
पाइलट लामाले उडानका क्रममा आफू शारीरिक र मानसिक रुपमा तनावमा रहने अन्तर्वार्ता दिएकाले उनको उडानका क्रममा यात्रुले सुरक्षित महसुस गर्न नसक्ने भन्दै प्राधिकरणले उनलाई बर्खास्तको लागि नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।
वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् ।
उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो । उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको हो ।