नेकपा युवा नेता न्यौपानेको सराहनीय कामः निजी विद्यालयबाट झिकेर सरकारीमा छोराछोरी भर्ना

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १४:२२ मा प्रकाशित

बाँके, १६ वैशाख– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता नरेन्द्र न्यौपानेले निजी बोर्डिङमा पढिरहेका छोराछोरीलाई त्यसबाट झिकेर सरकारी विद्यालयमा भर्ना गरेका छन् ।

न्यौपाने तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । उनले बाँकेको कोहलपुर–१ स्थित श्रीकृष्ण माविमा छोरी अनिशालाई कक्षा ७ र छोरा रवीन्द्रलाई कक्षा पाँचमा भर्ना गरेका हुन् । यसअघि उनका छोराछोरी दुवै कोहलपुरकै गोरखा युनाइटेड बोर्डिङ स्कुलमा पढ्थे । सामुदायिक विद्यालयको गुणस्तर सुधारर्ने अभियानअन्तर्गत आफूले निजी स्कुलमा पढिरहेका छोराछोरीलाई सरकारीमा सारेको न्यौपानेले काठमाण्डुटुडेलाई बताए । ‘मुखले भन्नु र कामले गरेर देखाउनु फरक कुरा हो’, न्यौपानेले भने, ‘आफ्ना छोराछोरी निजीमा पढाउने अनि सरकारी विद्यालयको गुणस्तर सुधार्न सकिँदैन भन्ने बुझेर मैले यो निर्णय लिएको हुँ । उनले मुलुक सञ्चालन गर्ने नेता, प्रकाशक, कर्मचारी, नागरिक अगुवा र वौद्धिक भन्नेहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएसम्म शैक्षिक गुणस्तर वृद्धि नहुने देखेपछि आफू उक्त अभियानमा व्यवहारिक रुपमै सरिक भएको उल्लेख गरे ।

उनले परिवारले सुरुमा त्यसो गर्न नमानेपछि पछि सहमत भएको बताए । ‘सामुदायिक विद्यालयका शिक्षककै छोराछोरी निजीमा पढिरहेका बेला हामीले किन सामुदायिकमा लाने भन्ने प्रश्न परिवार र आफन्त सबैको थियो’, न्यौपानेले भने, ‘मुखले मात्र सामुदायिक विद्यालयको स्तर सुधार्ने कुरा गरेर हुँदैन । हामी आफैं अभियानमा लाग्नुर्प भनेपछि सबैले सहयोग गर्नुभयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us