सम्बन्ध चिसिएपछि कांग्रेस नेतामाथि लाग्यो बलात्कारको आरोप

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख – बलात्कार आरोपमा पक्राउ परेका कांग्रेस नेता रमेश अर्याल र पीडित भनिएकी युवतीबीच राम्रो सहमति भएको खुलेको छ । गत चैत २२ गते आफूमाथि नेता अर्यालले बलात्कार प्रयास गरेको भन्दै ती युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

ती युवतीले चैत २२ गते शुक्रबार गोंगबुको कोठामा छिरेर नेता अर्यालले बलात्कार गरेको आरोप लगाएकी छिन् । युवतीले आफ्नो कोठा फोरेर बलात्कारको प्रयास गरेको सूचना दिएपछि नेता अर्याललाई प्रहरीले पक्राउ गरेको थियो ।

युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई पक्राउ गरेको थियो । अर्याल र ती युवतीबीच सम्बन्ध रहेको र दुवैबीच खटपट भएपछि बलात्कारको आरोप लगाएको काँग्रेसका एक नेताले बताए ।

‘युवती र अर्यालबीच राम्रो सम्बन्ध थियो । बेलाबेलामा सँगै खाने र बस्ने गर्थे’, ती नेताले भने, ‘उनीहरुबीच कुरा नमिलेपछि बलात्कारको आरोप लगाएकी हुन् ।’

कांग्रेस नेता अर्यालले आफूलाई कुटपिट गरेको ती युवतीले प्रहरीमा बताएकी छिन् । अर्याल नुवाकोट कांग्रेस सभापति जगदीश्वर नरसिंह केसीका नजिकका नेता मानिन्छन् ।

उनलाई पार्टी साभापति केसीले आमन्त्रित सदस्यको रूपमा गत मंसिरमा मनोनित गरेका थिए । उनी रणभूवनेश्वरी क्याम्पस देवीघाटको अध्यक्ष र शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख समेत हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us