एजेन्सी – श्रीलंकामा सोमबारदेखि लागू हुने गरी अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ ।
गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा २ सय ५० भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलंकाले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो ।
अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन् । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताएका छन् ।
शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो । एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो ।
इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो । उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याश्नल तौहिद जमातले गराएको सरकारको दाबी छ ।
घटनापछि उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ ।