
काठमाण्डु, १६ वैशाख – संघीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन आज सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ ।
यस्तै सत्तारुढ तथा प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ ।
संघीय संसद सचिवालयका अनुसार दोस्रो सत्रमा संसदको तेस्रो अर्थात् हिउँदे अधिवेशन अन्त्य भएको गत चैत ११ गतेपछि निधन भएका सांसद तथा पूर्व सांसदहरु प्रति शोक प्रस्ताव पारित हुनेछ ।
चैत २६ गते पूर्वसांसद एवं उद्योगी दिवाकर गोल्छा, चैत २८ गते पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी तथा वैशाख १० गते पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन भएको थियो ।
अधिवेशनका क्रममा आउने जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि अनुमानित बजेट प्रस्तुत गर्नेछ । त्यसअघि सरकारले आफ्ना प्राथमिकता समेटेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रपति भण्डारीले आगामी शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले भने बजेटको सैद्धान्तिक छलफल नै नगराई नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।