ललितपुर, १५ बैशाख – ललितपुर, गोदावारी नगरपालिका–१ लगनखेल बस्ने चितवन घर भएका २१ वर्षीय सन्तोष घिमिरेलाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले घिमिरेलाई शंका लागि जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त लागूऔषध गाँजा फेला परेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका(३ धोबीघाट बस्ने सुनसरी धरान घर भएका २१ वर्षीय अतित तामाङ र रौतहट गौर घर भएका ३६ वर्षीय बिकलराज भट्टराईलाई नियन्त्रित लागूऔषध ट्रमा ट्याव्लेट २ हजार १ सय पिस, स्ट्रामिट ट्याब्लेट १ हजार ८ सय पिस, ट्रमिनो ट्याब्लेट १ सय पिस, ट्रमाचस ट्याब्लेट ५० पिस, स्ट्राबिन ट्याब्लेट २ सय पिस र एनटिको ट्याब्लेट २ सय पिस सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उक्त स्थानमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले ललितपुर सातदोवाटो क्षेत्रका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ट्रमा ट्याव्लेट ५० पिस सहित काठमाडौं बानेश्वर बस्ने २१ वर्षीय प्रिन्स तिवारी समेत ११ जनालाई शनिबार दिउसो पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।