बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलको जग्गा जफत नगर्ने सरकारको निर्णय !

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते २१:५१ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख– वर्तमान केपी ओली नेतृत्वको सरकारले नेकपाका महासचिव विष्णु पौडेलले किनेको बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा उनीबाट जफत नगर्ने तयारी भएको खुलासा भएको छ ।

भूमिव्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले पौडेलको नाममा रहेको जग्गा सरकारले फिर्ता नगर्ने खुलासा गरिन् । उनले नवीन पौडेलको नाममा रहेको ८ आना जग्गा वैधानिक रहेको जिकिरसमेत गरिन् । उक्त जग्गाको मोही कायम भइसकेकाले सरकारले जफत नगर्ने उनको भनाइ छ । अन्य ४ सय कित्ता जग्गाको हकमा भने मालपोत कार्यालय डिल्लीबजारबाट रोक्का भइसकेको उनले बताइन् । ‘विष्णु पौडेलको छोरा नवीनले किन्नु भएको जग्गाको मोही कायम भइसकेको छ’, शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘सरकारले नै मोही कामय गरेर व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिका रुपमा नविनको नाममा पुगेकाले त्यो जग्गा जफत हुँदैन ।’ सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको अन्य जग्गा भने व्यक्तिको नाममा गइसकको भए पनि जफत नहुने उनको भनाइ छ ।

सरकारले अधिग्रहण गरिसकेको ललीता निवासको १ सय १३ रोपनी जग्गा सरकारी अधिकारी र भूमाफियाको सेटिङमा व्यक्तिका नाममा पास भएको खबरसँगै त्यसमध्ये ८ आना जग्गा पौडेल पुत्र नवीनको नाममा रहेको पुष्टि भएको छ । पौडेल आफैंले दुईपटकसम्म विज्ञप्ति जारी गरी अफूले सरकारलाई राजश्व तिरेर उक्त जग्गा लिएको स्वीकार गरिसकेका छन् ।  पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले छानविनका क्रममा उक्त सरकारी जग्गा भूमाफियाले व्यक्तिका नाममा पास गरेको प्रतिवेदन पेस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us