प्रधानमन्त्रीले गर्ने काम राष्ट्रपतिले गर्दै हिड्नुभयोः शेखर कोइराला

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १६:५२ मा प्रकाशित

कोहलपुर, १४ वैशाख – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक राष्ट्रपति विध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपति जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् ।

डा कोइराला भने, ‘पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतिको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागि शुभ संकेत होइन । जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संबैधानिक राष्ट्रपतिले गर्दै हिडिरहनु भएको छ । यसबाट के सन्देश दिन खोजेको ?’

नेपाली कांग्रेस कोहलपुर नगरसमिती, बाँकेको भेलालाई संबोधन गर्दै डा कोइरालाले वालुवाटार र टूडिखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्बजनिक गरेर जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताए । सरकार, भूमाफिया, राजनीतिज्ञ र महानगरपालिकाको मिलेमतोमा वालुवाटारको जग्गा बिक्री गरेको र टूडिखेलको जग्गा भाडामा लगाएको बताए ।

कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले गरिब नेपालीको रगत–पसिना चुसेर राष्ट्रपति र प्रधानमन्त्रीले आलिशान जीवन बिताईरहेको आरोप लगाए ।

गुरुङले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउन प्रधानमन्त्रीलाई चेतावनी दिए । गुरुङले भ्रष्टाचारको चाङ्मा उभिएर समृद्धिको सपना नदेख्न पनी प्रधानमन्त्रीलाई चेतावनी दिए ।

बाँके कांग्रेसका सभापति किरण कोइरालाले प्रतिपक्ष कमजोर भएकाले सरकारका कमीकमजोरी जनतासामु आउन नसकेको बताए । ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राईले बर्तमान सरकार श्रमिक विरोधी भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us