
काठमाण्डु, १३ वैशाख– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्जु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताएका छन् ।
मन्त्री बस्नेतले त्यसका लागि कानूनी, नीतिगत तथा संरचनागत परिवर्तन गर्न लागिएको बताए । वन्यजन्तुको संरक्षण गर्दा मानव हितलाई सर्वोपरि ठानेर काम गर्ने मन्त्रालयको नीति रहेको भन्दै उनले सोही अनुसार कार्यसम्पादन गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए ।
‘वन र वन्यजन्तुभन्दा पहिला मान्छेको संरक्षण गर्ने सरकारको दायित्व हो’, चौथो भूकम्प दिवसको अवसर पारेर दोलखाको बिगु गाउँपालिका–३ बुलुङमा भूकम्पपछि पुनःनिर्माण गरिएका घर हस्तान्तरण कार्यक्रममा बस्नेतले भने, ‘सरकार त्यसका लागि कानूनी, नीतिगत र संरचनागत सुधकारको काममा लागेको छ ।’ उनले जनतालाई दुःख भयो भन्ने गुनासो नआउने गरी संरक्षणको काम गर्ने सरकारको नीति रहेको स्पष्ट पारे । संरक्षण मात्रले जनताको जीवनमा समृद्धि नल्याउने भन्दै उनले त्यसबाट प्राप्त लाभको समन्यायिक वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
संरक्षणले जनतालाई लाभान्वित गर्न नसके त्यसको औचित्य नहुनेसमेत उनले स्पष्ट पारे । पछिल्लो समय वन क्षेत्रको संरक्षण प्रभावकारी भएसँगै बाँदर, बँदेलजस्ता वन्यजन्तुको संख्यामा वृद्धि भएकाले किसानहरुले कष्ट भोग्नुपरिरहेको विषयमा सरकार जानकार रहेको र त्यसको निराकरणका लागि कामसमेत सुरु गरिसकिएको जानकारी उनले जानकारी दिए । कार्यक्रममा मन्त्री बस्नेतले कारितास नेपाल नामक गैह्रसरकारी संस्थाले सरकारसँगको सहकार्यमा निर्माण गरेको ७ सय ३ वटा घर सम्बन्धित घर धनीलाई हस्तान्तरण गरे ।