
वीरगञ्ज, १३ बैशाख – यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका –७ उमजन बस्ने २८ बर्षका सुनील यादव ३१ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
यातायात व्यवस्था कार्यालय अगाडि वीरगञ्ज महानगरपालिका–१३ स्थित शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बीमा कलेक्सन काउन्टरबाट पक्राउ परेका उनीहरुको साथबाट अख्तियारको टोलीले नगद ३१ हजार रुपैयाँ र केही कागजपत्र समेत बरामद गरेको छ ।