नेकपामा केपी ओलीभन्दा भीम रावल लोकप्रिय !

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते २१:४६ मा प्रकाशित

काठमाण्डु ९ वैशाख– नेकपाको जिल्ला कमिटी एकता घोषणा कार्यक्रममा उपस्थिति कार्यकर्ताले भीम रावलको प्रशंसा गरे ।

मकलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सोमबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका साथै शीर्ष नेताहरुको उपस्थितिमा एकता घोषणा कार्यक्रम थियो । कार्यकर्ताले हल भरिभराउ थियो । नेताहरु एकपछि अर्को गर्दै हलमा प्रवेश गरे । अरु नेता आउँदा प्रतिक्रियाविहीन जस्ता देखिएका कार्यकर्ता भीम रावल आएपछि एकाएक उत्तेजित भए । तालीले सभाहल जुञ्जियो । रावल कार्यक्रमको मञ्च अगाडि गए, हातमा बोकेको ट्याब टेबलमा राखे र दुवै हात उठाएर ताली बजाउने कार्यकर्तालाई अभिवादन गरे । कार्यकर्ता थप उत्साहित भएर सिठी फुके र ताली बजाए । एक प्रकारले रावलको उपस्थितिले हलको वातावरणमा नै परिवर्तन ल्याइदियो । रावलभन्दा केही पछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको आगमन भयो । \

ओली आउँदा पनि कार्यकर्ताले ताली बजाएर स्वागत त गरे, तर रावल आउँदाजस्तो ताली बजेन । यसले के देखायो भने रावल नेकपामा लोकप्रिय बन्दै गएका रहेछन् । कारण हो, सरकारका कतिपय खराब भनिएका र विवादास्पद कामको खिलाफमा रावल खुलेरै उत्रिएका छन् । खास गरी जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिन सरकारले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा पठाएको सर्कुलरको विरोधमा रावलले आपत्ति मात्र जनाएका छैनन्, नेताहरुलाई खबरदारीसमेत गर्दै आएका छन् । यस्तै पार्टी सञ्चालनको हालको विधि र प्रक्रिया गलत भएको भन्दै रावलले नेताहरुको आलोचना गर्दै आएका छन् । सायद नेकपामा रावलको विचारमा सहमत हुनेहरुको संख्या अधिक भएकै कारण अन्य नेता कार्यक्रम स्थलमा आउँदा भन्दा रालव आउँदा कार्यकर्ता उत्साहित भएका हुन सक्छन् । नेकपा इतर व्यक्तिसमेत राष्ट्रियतासम्बन्धी रावलको दृढ विचारको समर्थनमा देखिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us