
काठमाण्डु, ८ बैशाख – पछिल्लो समय काठमाण्डु–नयाँ दिल्ली रूटमा दैनिक एक उडान गर्दै आएको भारतको जेट एयरवेजको उडान बन्द भएपछि यो रूटमा भाडा अत्यधिक महँगिएको छ । भाडामात्र होइन मुख्य पर्यटकीय सिजनमै टिकट नपाएर यात्रुले सास्ती पाएका छन् ।
जेटको उडान बन्द भएपछिको अवस्थामा पहिलेभन्दा यो रूटमा भाडा तीन गुणाले बढेको छ । पहिले आठ हजारबाट सुरू हुने एकतर्फी भाडा अहिले बढेर न्यूनतम २० हजार पुगेको छ । ट्राभल एजेन्सीहरूका अनुसार यो रूटमा तीन वटा एयरलाइन्सले उडान गरिरहेका छन् ।
हाल भारतका इन्डिगो, एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले दुईतर्फी उडान गरिरहेका छन् ।
यसमा सबभन्दा सस्तो एयर इन्डियाको चालिस हजार छ भने महँगोमा ६५ हजार इन्डिगोको छ । नेपाल एयरलाइन्सको पनि ५८ हजार रहेको छ ।
जहाजको भाडा बजारको माग आपूर्तिले निर्धारण गर्छ । यसमा बजारमा सिट अभाव हुने बित्तिकै भाडा ह्वात्तै बढ्छ तर पनि एउटा उडान रोकिँदा उडान थप गर्नुभन्दा पनि भाडा बढाउनेतिर एयरलाइन्सहरूको प्रतिस्पर्धा देखिएको छ ।
यात्रालाई सहज बनाउने र भाडालाई प्रतिस्पर्धी बनाउनुपर्ने राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स स्वयम् यही प्रतिस्पर्धामा लागेको छ । बरु भारतीय राष्ट्रिय ध्वजाबाहकले यसमा केही बुद्धिमता अपनाएको छ ।
यसरी उडान रोकिँदा यात्रालाई सहजीकरण गर्ने भन्दा पनि कमाउने अवसरका रूपमा मात्र लिएको भन्दै तीन एयरलाइन्सका प्रतिनिधिलाई नागरिक उड्डयन प्राधिकरणले आज बोलाएको छ । भाडाभन्दा यात्रुहरूलाई टिकटकै समस्याले सताएको छ।
अहिलेको मौसम भनेको कैलाश मानसरोवर जाने हो । वर्षमा २० देखि २५ हजार भारतीयहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उक्त यात्रामा जान्छन् । धार्मिक यात्रा भएकाले उनीहरूले यात्रा स्थगन गर्न पनि कठिन हुन्छ । यस्तोमा बढ्दो भाडादर र टिकट अभावले झनै सताउने निश्चित भएको छ ।
भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेजले पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको भन्दै गत चैत २५ गतेदेखि सबैजसो अन्तर्राष्ट्रिय उडान स्थगन गरेको हो ।