
काठमाण्डु, ७ बैशाख – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को स्थापना गरेको छ ।
अस्पतालको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को उद्घाटन गरेका हुन् । रक्तसञ्चार केन्द्र अस्पतालभित्रै स्थापना भएपछि आकस्मिक अवस्थाका बिरामीका लागि रगत खोज्न बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ ।
रक्तसञ्चार केन्द्रको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले स्तरीय स्वास्थ्य सेवा र बिरामीप्रतिको सेवामा अस्पताल सदैव सर्मपित हुने बताए । पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको र देश बाहिर जानुपर्ने अवस्था नरहे पनि समाजका प्रतिष्ठित व्यक्तिहरुमा अझै पनि विदेश मोह देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
२५ शैय्याबाट स्वास्थ्य सेवा दिन सुरु गरेको अस्पतालले आगामी ३ वर्ष भित्र २ सय ५० शैय्या पुर्याउने लक्ष्यसहित नया भवन निर्माणको काम गरिरहेको छ । हाल अस्पतालमा १ सय ५० शैय्या रहेका छन् ।