
एजेन्सी – आर्थिक संकटका कारण सम्पूर्ण उडान निलम्बन भएको जेट एयरवेजका कर्मचारीहरुको बिचल्ली भएपछि स्पाइसजेट एयरले जेट एयरवेजका ५ सय कर्मचारीलाई जागिर दिएको छ ।
भारतीय संचारमाध्यम जनसत्ताका अनुसार एयरलाइन्स कम्पनी स्पाइसजेटले जेट एयरवेजका ५ सयभन्दा बढी कर्मचारीलाई जागिर दिएको छ ।
जागिर पाउनेमा पाइलट, एयर होस्टेसदेखि सबै किसिमका कर्मचारी छन् । स्पाइसजेटले आफूले अन्य कर्मचारीलाई समेत जागिर दिने योजना बनाएको जनाएको छ ।
समाचारका अनुसार स्पाइसजेटका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय सिंहले आफूले जेट एयरवेजका कर्मचारीलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
२०१९ मार्चमा जेट एयरवेजका संस्थापक तथा प्रमुख रहेका नरेश गोयलले कम्पनीको नाजुक अवस्थाको कारण राजीनामा दिएका थिए ।
त्यसपछि गहिरिँदो आर्थिक संकटबीच कम्पनीले १२ अप्रिल २०१९ देखि भने आफ्ना अन्तर्राष्ट्रिय उडान नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।
हाल वित्तीय संकटमा फसेको चर्चित भारतीय वायुसेवा कम्पनी जेट एयरवेजका सबै उडान बन्द छन् ।