
एजेन्सी । जापानको एक अस्पतालमा गएको अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।
ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् ।
चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गएको अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मँदा २५८ ग्राम मात्र थियो ।
जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो । ती बालकलाई यही वर्षको फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
अस्पतालको आईसीयूमा सात महिना राखेपछि रियुसुकेको तौल १३ गुणा बढेको थियो । अहिले ती बालकको तौल ३ किलोग्रामभन्दा बढी भइसकेको छ । ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मँदा उनको तौल २५२ ग्राम मात्र थियो । अति साना बालबच्चामा बाँच्ने दर केटीहरुको भन्दा केटाहरुको कम हुने गर्दछ ।