राष्ट्रपतिले नवदुर्गा नाचको अवलोकन गर्ने

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १४:३८ मा प्रकाशित

भक्तपुर, ६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्ने भएकी छन् ।

शक्तिको देवीको रूपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ ।

भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भोलि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको परिषरमा आयोजना हुने नवदुर्गा नाचको अवलोकन गर्न राष्ट्रपति आउने भएकी संघले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि ४ बजेसम्म नवदुर्गा नाच अवलोकन गरी पूजा एवं द्यो बोयकेगुको अवलोकन गर्ने भएको संघका अध्यक्ष रामप्रसाद प्रजापतिले जानकारी दिए ।

कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकीलगायत विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम समेत प्रस्तुत हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us