आज र भोली बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइने

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई भिटामिन ए कार्यक्रम सहजीकरण गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो ।

पहिलो चरण अन्तर्गत यसअघि भिटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us