यस्तो छ कर्मचारी भर्नासम्बन्धी लालबाबु राउतले लोकसेवालाई लेखेको पत्र

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १२:०४ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा गठनको तयारी भइरहेकोले केन्द्रबाट कर्मचारी नपठाउन सरकार र लोक सेवा आयोगलाई आग्रह गरेका छन् ।

प्रदेश लोक सेवा आयोग गठन विधेयक र प्रदेश निजामती सेवा ऐनको विधेयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेकोले प्रदेश र स्थानीय तहमा प्रदेश लोक सेवाबाटै कर्मचारी लिइने राउतले बताएका छन् ।

कर्मचारी समायोजन सकेको घोषणा गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले रिक्त कर्मचारी दरबन्दी पदपुर्ति केन्द्र सरकारको आग्रहमा प्रदेश लोक सेवा आयोग गठन नहुञ्जेल लोक सेवा आयोगले गर्ने बताउँदै आएका छन् । विभिन्न पदका लागि २० हजार कर्मचारी लोकसेवाले विज्ञापन खुलाउने उनको भनार्इ छ ।

सञ्चार माध्यममा लोक सेवाले कर्मचारी विज्ञापन गर्न लागेको समाचार प्रकाशित भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले लोकसेवा आयोगका अध्यक्षलाई पत्राचार गर्दै प्रदेश २ का हकमा विज्ञापन नगरिदिन आग्रह गरेका हुन् । राउतले उक्त पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि बोधार्थ दिएका छन् ।

मुख्यमन्त्रीले पठाएको पत्रमा भनिएको छ, ‘प्रदेश २ को प्रदेशस्तर र १३६ स्थानीय तहका हकमा कर्मचारी भर्ना सम्बन्धी विज्ञापन नगरिदिनुहुन अनुरोध छ ।’ प्रदेशलाई कर्मचारी राख्न सक्ने अधिकार संविधानमै भएको पनि उल्लेख छ ।

संविधानको धारा २८५ को उपधारा ३ मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका, नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्नेछन् भन्ने लेखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us