ललीता निवास प्रकरणमा सरकार भन्छ–विष्णु पौडेल ठगिए, ठगबाट क्षतिपूर्ति भराइन्छ

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते १२:५० मा प्रकाशित

बुटवल, ३ वैशाख– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपाका महासचिव विष्णु पौडेल बालुवाटारको ललीता निवास किनबेच प्रकरणमा ठगीमा परेको दाबी गरेका छन् ।

उनले पौडेल पीडित भएकाले ठग्नेबाट क्षतिपूर्ति उठाइने बताए । उनले पौडेलले नक्कल कागजका आधारमा जग्गा किनबेच गर्दा पौडेल फसेको जिकिर गरे । ‘उहाँ (पौडेल) ले थर्ड ह्याण्डबाट नक्कली जग्गा किन्दा ठगिनु भएछ’, बास्कोटाले भने, ‘जोसँग किन्नुभएको हो उसबाट क्षतिपूर्ति भराइन्छ ।’ उनले ललीता निवास प्रकरणका ‘ठग’ लाई पानीमुनि गए पनि नछाड्ने चेतावन दिए । सरकारले त्यसबारे छानबिन अघि बढाएको र सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कारबाही गरेरै छाड्ने उनको अठोट थियो ।

सरकारले एक वर्षमा मुलुक विकासको जग बसालेको दाबी गर्दै बास्कोटाले कम्युनिष्ट सरकारप्रति मनोवैज्ञानिक र रेडिमेड आशंका उब्जाउन प्रयासरत रहेको आरोप लगाए । सरकारले पानीजहाज र रेल ल्याउने कुरा गर्दा खिसीट्युरी गर्नेहरु अहिले पत्याउन बाध्य भएको जकिर उनले गरे । यद्यपि रातारात विकास सम्भव नभएको बताए । चीनले ग्रेटवाल पनि एकैरातमा नबनाएकोले चमत्कारिक ढंगले विकास सम्वभ रहेको तर्क गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us