काँग्रेसले भन्यो– प्रधानमन्त्रीको भाषण आएपछि टिभी बन्द गर्नु, बच्चा बिग्रन्छन्

काठमाण्डु टुडे २०७६ वैशाख २ गते २०:२९ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– प्रमुख विपक्षी काँग्रेसले प्रधानमन्त्री केपी ओलीको बोलीबाट बालबालिका जोगाउन कठिन हुने अवस्था आएको आरोप लगाएका छन् ।
पार्टी कार्यालय सानेपामा सोमबार आयोजित्र पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको बोली पदीय उचाइविपरीत रहेको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिका जोगाउन टेलिभिजन बन्द गर्नुपर्ने अवस्था आएको बताए । ‘प्रधानमन्त्रीका अभिव्यक्तिमा पदीय उचाई अनुरुपको गरिमा नभएको कांग्रेसको ठहर छ’, ‘शर्माले भने, ‘जिम्मेवार प्रधानमन्त्रीका अभिव्यक्तिहरूमा पदीय उचाई अनुरुपको गरिमा हुन के जरुरी छैन ?, कांग्रेसको प्रश्न छ– टेलिभिजनमा प्रधानमन्त्री बोल्न थालेपछि मनोरञ्जन प्राप्त गर्दा सम्म त ठिकै हो अन्यथा उहाँका कतिपय अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नु पर्ने स्थिति आउनु अत्यन्त दुःखद छ ।’

शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति संस्कार शून्य रहेको आरोप पनि लगाए । कहिले कार्यकर्तालाई विपक्षीमाथि अरिङगाल भएर जाइलाग्न र कहिले वुद्धिजीवीहरुलाई थला पार्ने चेतावनी दिने गरेको चर्चा गर्दै शर्माले संस्कारको पनि नेतृत्व गर्न प्रधानमन्त्रीलाई सुझाए । काँग्रेसले आफ्नो पार्टीसहित विपक्षीलाई नन्दीभृङ्गीको संज्ञा दिएकामा पनि आपत्ति जनाएको छ । ‘विपक्षी दलहरूलाई नन्दीभृङ्गीको संज्ञा दिनुभयो । प्रधानमन्त्रीका यस्ता आपत्तिजनक अभिव्यक्तिहरुको नेपाली कांग्रेस भत्र्सना गर्दछ’, पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूलाई हेक्का रहोस्, देश सरकारको नेतृत्व गरेर मात्रै बन्दैन संस्कारको पनि नेतृत्व गर्न सक्नुपर्छ ।’ काँग्रेसले एक वर्ष प्रधानमन्त्री ओलीले गफ मात्रै गरेर बिताएको भन्दै कुरा नभई काम गरेर देखाउन चुनौती दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us