प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न सिकाए: नेपाली कांग्रेस

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीप्रति व्यक्त गरेका शब्दप्रति आपत्ति जनाएको छ । इतिहासमा बोली होइन, कर्म मात्र लेखिने कुरातर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।पार्टी केन्द्रीय कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओलीका शब्दप्रति आपत्ति जनाएका हुन् । आइतवारको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसप्रति संकेत गर्दै नन्दी–भृंगीको रुपमा टिप्पणी गरेका थिए ।

‘वृद्धवृद्धाका अगाडि सरकार ढाल्ने कुरा गरे बुढापाकाले लौरोले हान्लान्, केटाकेटीका अगाडि सरकार ढाल्ने कुरा गरे ढुंगाले हान्लान्’ भन्ने ओलीको आरोप खण्डन गर्दै शर्माले भने, ‘अभिभावकले टेलिभिजन बन्द गर्ने अवस्था नआओस् ।’

प्रधानमन्त्रीका बोलीले बालबालिका ढुंगा हान्न सिक्ने र बिग्रिने भएपछि अभिभावकले टीभी बन्द गर्नुपर्ने प्रवक्ता शर्माले बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा बाेल्दै उपसभापति विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्रीले जे भन्नु भएको छ, त्यो आपत्तिजनक छ, घोर भत्सना गर्दछौं ।’

प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै धन्यवाद दिए । कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us