
काठमाण्डु, २ वैशाख – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बढुवा र भर्नामा भेदभाव नगरेको बताएका छन् ।
सशस्त्र प्रहरी बल हल्चोकमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खनालले प्रहरी नियमावलीमा रहेर कर्मचारीको भर्ना र बढुवा गरेका बताएका हुन् । प्रहरी भर्ना र बढुवामा अनियमितता समेत नभएको उनले बताए ।
१ वर्षको अवधिमा विभिन्न दर्जामा सशस्त्र प्रहरीमा ३५ सय ६४ भर्ना भएका छन् ।
३४ सय १ जना भर्ना प्रक्रियामा रहेका छन् । २९ हजार ३७ जनाको सरुवा र समायोजन भएको छ। ४ हजार ४ सय ३६ जनाको बढुवा भएको छ । आचरण विपरित काम गर्ने ५ सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् ।
साथै खनालले पक्राउ पुर्जीका विषयमा नेपाल प्रहरीसँग आफूहरुको विवाद नभएको समेत प्रष्ट पारे । सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा आम नागरिकलाई शान्ति सुरक्षा दिने भइरहेको उनले बताए । इतिहासमा नै यसरी दुई प्रहरी संगठन मिलेर काम नगरेको उनको भनाइ थियो ।