पाकिस्तानमा दुधको मूल्य १८० रूपैयाँ पुग्यो

काठमाण्डु टुडे २०७६ वैशाख १ गते १३:२० मा प्रकाशित

एजेन्सी । महङ्गीको मार खेपिरहेको पाकिस्तानमा आम नागरिकको समस्या कम हुने कुनै छाँटकाँट हुने देखिँदैन । दैनिक हिन्दुस्तान खबरका अनुसार, पाकिस्तानमा प्रत्येक दिन दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको छ ।

तरकारी, पेट्रोल र डिजेलको भाउ त पहिलेदेखि नै बढेको थियो, अब यसमा दूध पनि सामेल भएको छ । अखबारहरुका अनुसार, पाकिस्तानमा अहिले दूध प्रतिलिटर १ सय २० देखि १ सय ८० सम्ममा बिक्री भइरहेको छ ।

कराँची डेरी फार्मर्स एसोसियशनले दूधको मूल्यमा प्रतिलिटर २३ रुपैयाँले बढाएको हो । एसोसिएशनका अनुसार, पशुहरुलाई खुवाउने चारा र इन्धनको मूल्य निकै बढेपछि दूधको मूल्य बढाउन बाध्य हुनुपरेको हो ।

पाकिस्तानमा पाँच वर्षयता महङ्गीको दर अहिलेसम्मकै उच्च अर्थात् ९.४१ प्रतिशत पुगेको छ । यो महङ्गी सन् २०१४ पछिकै सर्वाधिक उच्च हो । गएको मार्चमा मात्र महङ्गी पहिलो महिनाको तुलनामा १।४२ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us