
नयाँदिल्ली, ३० चैत – भारतको पञ्जाब राज्य सरकारका मन्त्री नवजोत सिंह सिद्धुले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।
उनले पहिले उग्रवादीहरूको हमलालाई लिएर मन्त्रीहरूको राजीनामा आउने गरेकोमा अहिले त्यस्ता हमलालाई लिएर भोट माग्ने गरिएको बताए ।
सञ्चारकर्मीसँग कुरा गर्दै सिद्धुले भने, ‘पहिला–पहिला आतङ्कवादी हमला हुँदा राजीनामा आउँथे । मुम्बई आक्रमणपछि शिवराज पाटिल र विलासराव देशमुखले राजीनामा दिए । तर अहिले हमलालाई लिएर भोट पो माग्ने चलन शुरू भएछ ।’
उनले भने, ‘तपाईँको मोदीको कार्यकालमा १७ सय हमला भएका छन् । सन् २०१० मा आठ जवान शहीद भए भने अहिले ६१ जना शहीद भएका छन् ।’
सन् २००४ र सन् २००९ को पञ्जाब प्रान्तीय निर्वाचनमा मोदीको भारतीय जनता पार्टीको तर्फबाट जितेका सिद्धुले सन् २०१७ मा भने पार्टी परिवर्तन गरि कँग्रेस आईबाट जितेका थिए ।
मोदीलाई सम्बोधन गर्दै सिद्धुले भने, ‘तपाईँले त्यसलाई रोक्न के गर्नुभयो, के जवानहरूको लश्करसम्म २५० किलोग्राम विस्फोटक पदार्थ पुग्नु भनेको गुप्तचर निकायको विफलता होइन र ?’
सिद्धुले मोदी सरकारको योजनाको पनि आलोचना गर्दै उनले भने, ‘यो देशमा कतिपय मान्छे भोको पेट बस्छन् तर योग गर्न लगाइन्छ । गोजी खाली हुन्छ तर खाता खोल्न लगाइन्छ ।’
उनले भने, ‘कतिपयले खाना खान पाइरहेका हुँदैनन् तर शौचालय बनाइन्छ । गाउँमा बिजुली हुँदैन तर डिजिटल इन्डिया बनाइँदैन । कम्पनी विदेशी हुन्छन् तर मेक इन इन्डिया भनिन्छ ।’
जनताले साथ दिए पनि उनीहरूका लागि विकास हुन नसकेको सिद्धुको भनाइ छ । विकासका नाममा अडानी र अम्बानीको मात्रै विकास भएको उनको आरोप छ ।
उनले भने, ‘अम्बानी समूहलाई सरकारले सिमेन्ट उद्योगका लागि ४० करोडमा १२४० एकड जग्गा दियो । सिमेन्ट उद्योग त स्थापना भएन तर उनले ४८०० करोडको जमिन चाहिँ बेचे ।’
फ्रान्ससँगको लडाकु विमान सम्झौतालाई लिएर पनि सिद्धुले मोदी नेतृत्वको सरकारको आलोचना गरेका छ ।
उनले भने, ‘सर्वोच्च अदालत गएरै कुनै सरकारले झूटो बोलेको यो पहिलो पटक हो ।’
दालमा कालो
नीरव मोदी र ललित मोदी देशबाट भाग्दा सरकार कहाँ थियो र कुन चौकीदारले चौकीदारी गरिरहेको थियो भन्दै सिद्धुले सरकारलाई प्रश्न गरेका छन् ।
सन् २०१६ को नोटबन्दीले कालोधनलाई छुन नसकेको पनि उनको दाबी छ । सिद्धुले भने, ‘तपाईँले देशको लोकतन्त्रलाई गुण्डातन्त्र, भयतन्त्र र ट्रोलतन्त्र बनाइदिनुभयो ।’
लोकतान्त्रिक संस्थाहरूलाई पनि वर्तमान सरकारले खत्तम बनाइदिएको उनको आरोप छ । सरकारले केन्द्रीय अनुसन्धान निकायलाई रबर स्टाम्प र न्यायपालिकालाई चौबाटोमा उभ्याइदिएको पनि सिद्धुको आरोप छ ।
सिद्धुले भने,‘देशको इतिहासमा पहिलो पटक चारजना न्यायाधीश जनताबीच आएर भन्नुपर्यो कि दालमा कालो होइन पूरै दाल नै कालो छ ।’