ट्रम्पसँग वार्ता गर्न किम जोङ इच्छुक

काठमाण्डु टुडे २०७५ चैत ३० गते १४:०० मा प्रकाशित

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले सकारात्मक नियत देखाए आफू तेस्रो शिखर वार्ताका लागि तयार भएको बताएका छन् ।

एक वक्तव्य जारी गर्दै नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकको पारस्परिक हित हुने पारदर्शी एवं आपसी रुपमा स्वीकार्य हुने खालका आधारहरु प्रस्तुत गरेको खण्डमा आफू अर्को वार्ताका लागि तयार रहेको बताएको कोरियाली राष्ट्रिय सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

दुवै देशलाई हित हुने किसिमको वार्ताका लागि आफू सदैव तयार रहेको किमको भनाइ छ । गत वर्ष दुवै नेताबीचको पहिलो शिखर वार्ता सिंगापुरमा सम्पन्न भएको थियो । निकै सकारात्मक रुपमा टुङ्गिएको सो वार्तापछि दोस्रो वार्ता गत फेब्रुअरीमा भियतनाममा सम्पन्न भएको थियो ।

यद्यपी परमाणु निशस्त्रीकरण सम्बन्धमा सहमति नजुटेपछि सो वार्ता असफल भएको थियो । वार्ताका क्रममा अमेरिकाले उत्तरले आफ्ना सम्पूर्ण परमाणु कार्यक्रमहरु बन्द गर्नुपर्ने र उत्तर कोरियाले आफूमाथिका सम्पूर्ण आर्थिक प्रतिबन्ध पूर्ण रुपमा हटाएपछि मात्रै परमाणु कार्यक्रम अन्त्य गर्ने लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us