काठमाण्डु, २३ माघ – धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाण्डु गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ ।
यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाण्डुलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको हो । सम्झौताको रकम भने खुलाइएको छैन ।
आज यहाँ आयोजित एक कार्यक्रममा कलेजका प्रमुख सुलभ बुढाथोकी र काठमाण्डु टोलीका मालिक रमेश सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौतासँगै काठमाण्डु गोल्डेन्स टोलीले अब काठमाण्डु गोल्डेन्स इस्लिङटन कलेजको नामबाट डिपिएल खेल्नेछ ।
उक्त कार्यक्रममा प्रतियोगितामा सहभागिता जनाउन जाने खेलाडीको विदाई समेत गरियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको उक्त टोली साविक उपविजेता पनि हो । फाइनल खेलमा धनगढीले काठमाण्डुलाई पराजित गरेको थियो ।
यस्तै काठमाण्डुले विदेशी खेलाडीका रूपमा भारतीय ब्याट्सम्यान गौरव तामोर र अलराउन्डर अङ्कित दभासलाई समेत अनुबन्ध गरेको जनाएको छ । डिपिएलमा काठमाण्डुसहित, रुपन्देही च्यालेन्जर्स विराटनगर किङस, धनगढी स्टार्स, सीवाईसी अत्तरीया र महेन्द्रनगर युनाईटेडले प्रतिस्पर्धा गर्नेछन् ।