नेपालमै पनि ओडिआई हुनसक्छ: पारस खड्का

काठमाण्डु टुडे २०७५ माघ २१ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, २१ माघ – युएईविरूद्धको टी ट्वान्टी र एक दिवसीय सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सयौंको संख्यामा आएका खेल समर्थकले रातो कार्पेट बिछ्याएर स्वागत गरेका छन् ।

विमानस्थल पत्रकारसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु समग्र नेपाली क्रिकेटका लागि राम्रो भएको बताएका छन् ।

‘रंगशाला बनोस् भन्ने हाम्रो चाहना हो, यो नेपाली खेलकुदका लागि राम्रो हुन्छ,’ खड्काले भने ।

उनले सबै खेलाडीको सामूहिक प्रदर्शनले यो सफलता सम्भव भएको बताए ।

उनले अब केही समयपछि आईसिसिका प्रतिनिधि नेपाल आएर त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने भन्दै नेपालमै पनि ओडिआई हुनसक्ने बताएका छन् ।

‘आईसीसीका प्रतिनिधिहरू केही दिनपछि नेपाल आउनेछन् र हाम्रो मैदानको अवलोकन गर्नेछन् । यदि उनीहरूले यहाँ एक दिवसीय खेल खेलाउन सकिन्छ भन्ने सुझाव दिए नेपालमै केही ओडिआई खेलहरू हुन्छन्,’ खड्काले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us