उत्पादन तथा सेवामूलक क्षेत्र शेयर बिक्रीका लागि उत्साहित

–रमेश लम्साल २०७५ माघ ६ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, ६ माघ – पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्र समेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा रु एक अर्ब वा सो भन्दा बढी पूँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएका हुन् ।

विशेष गरी चन्द्रागिरि हिल्स, डिस होम नेपाल र शिवम् सिमेन्टले साधारण शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएका छन् । ती मध्ये शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरबासीका लागि यसअघि नै साधारण शेयर बिक्री गरेको छ ।

चन्द्रागिरि हिल्स र डिस होम नेपालले भने वार्षिक साधारणसभामार्फत साधारण शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएका छन् । चन्द्रागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयर बिक्री गर्ने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न गरेको साधारणसभाबाट शेयर बिक्रीको प्रस्ताव पारित गरेको थियो । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालकाअनुसार साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले चुक्ता पूँजी रु एक अर्ब ५० करोडको १० प्रतिशतका दरले हुन आउने साधारण सेयर बिक्रीको तयारी गरेको हो ।

विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केवलकारले काठमाडुण् उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको छ । चालू आवको बजेट वक्तव्यमा समेत रु एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण सेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ ।

केवलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् । यस्तै डिजिटल टेलिभिजन सेवा दिइरहेको डिस होम नेपालले पनि रु २२ करोड बराबरका २२ लाख कित्ता साधारण शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । गत पुस २७ गते सम्पन्न भएको कम्पनीको वार्षिक साधारणसभाले साधारण शेयर बिक्रीको प्रस्ताव पारित गरेको छ ।

चालू आर्थिक वर्षको बजेटमा एक अर्ब वा सो भन्दा बढी पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीका रुपान्तरण भई पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै बजेटमा प्राइभेट इक्विटी, भेञ्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थालाई पूँजी बजारमा प्रवेश गराउने र नेपालको क्रेडिट रेटिङ गराई विदेशी लगानी तथा ऋण प्रवाहलाई सहजीकरण गरिने व्यवस्था छ ।

यस्तै उत्पादन क्षेत्रको अर्को कम्पनी शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरबासीका लागि आठ लाख ८० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । प्रतिकित्ता रु १०० को शेयरमा प्रिमियम थपेर रु ३०० मा साधारण शेयर बिक्री गरेको सो कम्पनीले तोकेअनुसारको शेयर भने बिक्री गर्न सकेन । कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता साधारण शेयर रु ४०० मा बिक्री गर्ने प्रस्ताव गरेको छ ।

स्थानीयवासी र सर्वसाधारणलाई गरी कूल रु दुई अर्ब दुई करोड ४० लाख बराबरको साधारण शेयर बिक्री गर्ने लक्ष्य राखेको छ । तर उद्योग प्रभावितलाई बिक्री गर्ने भनिएका सबै शेयर बिक्री नभएका कारण उक्त कम्पनी भने दबाबमा परेको छ । नेपाल धितोपत्र बोर्डले दर्ता तथा निष्काशन नियमावली २०७३ मा पूँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निष्काशन गरे पुग्ने व्यवस्था गरिएको छ ।

बोर्डका प्रवक्ता नीरज गिरीले सरकारले गरेको नीतिगत सुधार तथा दश प्रतिशत मात्रै भए पनि शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्थाका कारण क्रमशः वास्तविक क्षेत्र समेत साधारण शेयर बिक्रीका लागि आर्कषित भएको बताए ।

उनले सरकारले साधारण शेयर बिक्री गर्ने कम्पनीलाई निश्चित अवधिसम्म कर छुटको प्रबन्ध गरेको तथा बोर्डले पनि धितोपत्र निष्काशनमा केही सहजीकरण गरेका कारण पनि सकारात्मक वातावरण देखिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us