टेलिकमले शेयरधनीलाई नगद लाभांश दिने

काठमाण्डु टुडे २०७५ माघ १ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, १ माघ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४–७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।

एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको सभाले आव २०७४–७५ का लागि विभिन्न प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आव २०७४–७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिशबमोजिम आव २०७५–७६ का लागि कम्पनीको लेखा परीक्षण गर्न चाटर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिकसमेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा उपस्थित शेयरधनीलाई स्वागत गर्दै कम्पनीको एघारौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले अगामी दिनमा अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने प्रतिबद्धता व्यक्त गरे ।

विगत वर्षमा जस्तै आव २०७४–७५ मा पनि कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा वृद्धि गर्न सफल भएको उनको भनाइ थियो । विसं २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०।९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३।६ प्रतिशत पुगेको गुरुङले जानकारी दिए ।

सचिव गुरुङले तीव्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महसुलमा ब्यापक कटौतीका बाबजुत सञ्चालन आय रु ३९.०२ अर्ब कायम गरी कूल आयमा १.५२ प्रतिशतले वृद्धि गर्न कम्पनी सफल भएको बताए । समीक्षा वर्षमा नाफा १३.७३ प्रतिशतले वृद्धि गरी रु १७.४८ अर्ब पु¥याउन कम्पनी सफल भएको छ । उनले डाटा सेवाको माग बढ्दै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरि चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको फोर जी–एलटिइ उपकरणलाई फाइभ जीमा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us