काठमाण्डु, २६ पुस – विदेशबाट फर्किंनेले अबदेखि ‘निजी गुण्टा, झिटी भारी’ निर्देशिकामा तोकिएको भन्दा बढी सामान ल्याएमा जफत गर्न थालिएको छ । विदेशबाट फर्कनेले धेरै रक्सी बोकेर आउन थालेपछि भन्सार जाँचमा कडाई गर्दै निर्देशिका भन्दा बढी सामान ल्याएमा जफत गर्न थालिएको हो ।
बढीमा एक लिटर रक्सी मात्र ल्याउन पाउने नियम भए पनि योभन्दा धेरै ल्याउन थालेपछि कडाई गरिएको छ । २०७३ साल साउन १ गतेदेखि जारी भएको ‘निजी गुण्टा, झिटी भारी’ निर्देशिकामा उल्लेख भएको परिणामभन्दा धेरै सामान ल्याएको पाइएमा जफत हुने छ ।
कुन सामानमा भन्सार तिर्न पर्दैन ?
‘निजी गुण्टा, झिटी भारी’ निर्देशिका अनुसार विदेशबाट फर्किंदा लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधी उपचार गराई फर्केका बिरामीका औषधी, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामानमा सजिलैसँग ल्याउन पाइन्छ । यी सामान ल्याउँदा भन्सार शुल्क लाग्दैन ।
यस्तै एक वटा ट्यावलेट, ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक थान मात्र ल्याउन पाइन्छ ।
वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष काम गरेर फर्किंएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । तर अरु नै कामले विदेश गएर एक वर्ष नबिताई फर्किएको भएमा भन्सार छुट् पाईंदैन । यसरी टिभी ल्याएमा विमानस्थलको भन्सारले जफत गर्न सक्छ ।
विदेशबाट घर फर्किंदा आफन्तलाई मोबाइल ल्याइदिने चलन पनि छ । तर निर्देशिका अनुसार एक थान मोबाइल ल्याउँदा मात्र भन्सार छुट पाइन्छ ।
पेशागत सामानमा पनि भन्सार तिर्न पर्दैन । तर त्यसो भन्दैमा जति पनि ल्याउन पाइन्छ भन्ने चाहिँ हुँदैन । बिभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्वन्धित सामानमा पनि भन्सार लाग्दैन ।
डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १ र १ थान ल्याउँदा भन्सार तिर्नुपर्दैन ।
यस्ताे छ निर्देशिका:
नेपाल सरकार
अर्थ मन्त्रालयको
निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचना
नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०७३ साल श्रावण १ गतेदेखि लागू हुने गरी देहाय
बमोजिमको “निजी गुण्टा, झिटी भारी” सम्बन्धी यो सूचना प्रकाशित गरेको
छ ।
परिच्छेद–१
नेपाली यात्रुका लागि
१. बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान,
(ख) औषधि उपचार गराई फर्केका विरामीले ल्याएका औषधी,
(ग) शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया,
(ब) ट्यावलेट वा ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) ।
(ज) सात किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा एक लिटरसम्मको बोतल एक ।
(२) यात्रुले उपदफा (१) को खण्ड (घ) र (झ) मा उल्लिखित सामान बाहेक सो उपदफामा उल्लिखित अन्य सामान बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी छाडि दिन सक्नेछ ।
(३) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आपूm आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ ।
(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, एक एक सेट ।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान ।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण– मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई÷दुई थान ।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार ।
(ब) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने
सामान दुई÷दुई थान ।
(च) खण्ड (क) देखि (ब) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान । तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ । (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट सो उपदफा (३) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ । छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ ।
(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चीस हजार रुपैयाँसम्म, (५) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (४) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ ।
(ख) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (३) बमोजिमका सामानमध्ये अमेरिकी डलर तीन सय पचास सम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लिई जाँचपास गर्न
सकिनेछ ।.
(ग) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ । यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ । (घ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई
निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि पचास हजार रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु
बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ ।
(ब) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ । (च) वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ । तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (४) बमोजिम मूल्य छुट सुविधा दिइने छैन । (छ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरीछुटाउन पाइने छैन ।
२. क्रु मेम्बरका सम्वन्धमाः उडानमा गएका वायु सेवाका क्रु मेम्बरले आफ्नो प्रयोगमा ल्याएका निजी सामान बाहेक कुनै पनि सामान ल्याउन पाउने छैन । ल्याएमा जफत हुनेछ । ३. बिदेश जाने नेपाली यात्रुका सम्बन्धमाः (१) यात्रुले विदेश जाँदा
आफ्नो प्रयोगका लागि दफा १ को उपदफा (१) बमोजिमका सामान सबै वा कुनै सामान लैजान पाउनेछ । यस्तो सामानमा
भन्सार महसुल छुट हुनेछ । (२) नेपाली नागरिक विदेश जाँदा सौगातको रुपमा नेपालमा उत्पादन भएका पचास हजार रुपैंया मूल्यसम्मका मालसामान (मनाही वा नियन्त्रित मालसामान बाहेक) कुनै महसुल नलगाई लैजान दिइनेछ । तर मूल्य अभिवृद्धि कर लाग्ने सामानमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने सामानमा स्थायी लेखा नम्वर भएको बीजक पेश गरेमा यस उपदफा वमोजिमको मूल्यको सीमा वन्देज लागू हुने छैन ।
(३) एयरलाइन्सले यात्रुलाई साथै लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका सामानहरु (मनाही वा नियन्त्रित सामान बाहेक) लैजान चाहेमा तोकिएको कागजातहरु पेश गरी तोकिए बमोजिमको शुल्क र महसुल तिरी लैजान पाउनेछ । यसरी सामान लैजाँदा अग्रिम भुक्तानीको प्रमाण वा प्रतीतपत्र आवश्यक पर्ने छैन ।
४. सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिले सुविधा नपाउनेः (१) सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिलाई यस सूचनामा उल्लेख भएका कुनै पनि सुविधा दिइने छैन । तर एकसय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका मालसामान साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिइ छाड्न सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि
भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले आफ्नो साथमा लगेको वा ल्याएको ट्यावलेट वा ल्यापटप वा कम्प्यूटरमध्ये कुनै एक थानमा महसुल लाग्नेछैन ।
५. गैर आवासीय नेपाली यात्रुको हकमा लागू हुनेः– गैर आवासीय नेपाली यात्रुको हकमा दफा १ को उपदफा (१), (२) र (३) तथा दफा ३ को व्यवस्था लागू हुनेछ । त्यस्तो व्यक्तिले आफू गैर आवासीय नेपाली भएको प्रमाण पेश गर्नु पर्नेछ ।
परिच्छेद–२
विदेशी यात्रुका लागि
६. अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने जाने विदेशी यात्रुहरुको लागिः
(१) अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने, जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा निजी प्रयोगका चलनचल्तीमा ल्याएका देहायका पुराना सामान ल्याउंदा वा लैजांदा महसुल छुट हुनेछः –
(क) बाइनाकुलर (दूरविन) गोटा एक ।
(ख) ट्यावलेट वा ल्यापटप गोटा एक, भिडियो क्यामरा गोटा एक, क्यामरा गोटा एक ।
(ग) पोर्टेबुल म्युजिक सिष्टम एक सेट ।
(घ) लुगाफाटाहरु, बरबिछ्यौना, कसन तसन, घर गृहस्थीका पुराना सामानहरु ।
(ब) पेराम्बुलेटर गोटा एक, ट्राइसाइकल एक ।
(च) साइकल एक ।
(छ) घडी एक ।
(ज) सेलुलर मोवाइल फोन एक ।
( ́) निम्न बमोजिमका पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका निम्न बमोजिमका उपकरणहरुः
(१) कर्मीले काम गर्नको निमित्त ल्याएको ज्यावल बढीमा एक सेट ।
(२) डाक्टर वा वैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु र औषधीहरु तथा सम्बन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु ।
(३) गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान ।
(४) खेलाडीको खेलको सामान ।
(५) माछा मार्ने रड ।
(ञ) विदेशी यात्रुले आफ्नो साथमा पचास ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहना ल्याउन पाउनेछन् ।
(२) उपदफा (१) मा उल्लिखित मालसामानका अतिरिक्त मनाही, नियन्त्रित र व्यापारिक प्रयोजनका मालसामान बाहेक विदेशी यात्रुले ल्याउने लैजाने अन्य सामानहरु भन्सार प्रमुखले औचित्य हेरी बिना महसुल वा कानून बमोजिम लाग्ने महसुल लिई ल्याउन, लैजान दिन सक्नेछ ।
(३) पासपोर्ट लिई आउने जाने विदेशी यात्रुहरुले ल्याउने देहायको मालसामानमा भन्सार महसुल लाग्ने छैनः
(क) मदिरा एक लिटरसम्मको बोतल एक वा वियर बाह्र क्यानसम्म ।
(ख) चुरोट दुइसय खिल्ली, सिगार पचास खिल्ली,
टोबाको दुइसय पचास ग्रामसम्म ।
(ग) दश हजार रुपैंयाँ मूल्यसम्मका औषधी (नेपालमा
पैठारी गर्न मनाही भएका औषधीहरु बाहेक) ।
(घ) पाँच हजार रुपैंयाँ मूल्यसम्मका खानेकुराहरु (टिन
प्याक समेत) ।
(ब) दुई हजार रुपैंयाँ मूल्यसम्मका ताजा फलपूmल ।
(४) विदेशी यात्रुले नेपालबाट लैजान सक्ने सौगातको हकमा निजले नेपालमा विदेशी मुद्रा सटही सम्बन्धी कारोवार गर्ने बैंक वा त्यस्तोविदेशी मुद्रा सटही गर्न तोकिएको अधिकृत डिलरसँग विदेशी मुद्रा सटही गरेको प्रमाणित हदसम्म नेपाली बजारमा खरिद गरिएका मालसामान बिना इजाजत पत्र (निकासीमा बन्देज लागेको बाहेक) लैजान वा पठाउन सक्नेछ ।
(५) विदेशी यात्रुले उपदफा (४) मा तोकिएका मालसामानका अतिरिक्त नेपालमा उत्पादन भएका वा नेपाली बजारमा खरिद गरिएका मूल्य पचास हजार रुपैयाँसम्मका मालसामानहरु निकासीमा वन्देज लगाएका वाहेक) आफूसाथ लैजान वा पठाउन सक्नेछ ।