
काठमाण्डु, १८ पुस- राष्ट्रपति म टेम्पो चढेर हिंड्छु भन्नुहुन्छ, के त्यर्सै गर्न दिने त ? हामीले नै हो सेनाको माग बमोजिम उहाँका लागि राम्रै गाडीको व्यवस्था गर्न लागेको । उहाँको यसमा केही दोष छैन । नेकपाको बहुचर्चित स्थायी समिति बैठकमा उठेका प्रश्नउपर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केप ीओलीले दिएको जवाफ हो यो । त्यसअघि पूर्वएमालेको अनुशासन कमिटीमा अध्यक्ष रहेका अमृत बोहरालगायत इमान्दार र स्वच्छ छविका नेताहरुले भिभिआईपीहरुका लागि गर्न लागिएको विलासी व्यवस्थाप्रति आमरुपमा उठेको टिप्पणीहरुलाई शीर्ष नेतासमक्ष प्रस्तुत गर्दै असन्तुष्टि जनाएका थिए ।
सादा जीवनमा विश्वास गर्नुपर्ने कम्युनिष्टहरु सुविधाभोगी हुन नहुने सुझाव पनि त्यहाँ राखियो । प्रहरी तालिम केन्द्र हटाएर त्यहाँ राष्ट्रपतिका लागि हेलिप्याड बनाउने, उपराष्ट्रपति निवासका लागि समाजकल्याण परिषद स्थानान्तरण गर्नेजस्ता विषयमा ओलीका जवाफ पनि त्यस्तै थिए । बिहान ४ बजे नै प्रहरीले परेड खेल्न थाल्छ र बन्दुक पड्काइन्छ, अनि त्यस्तो होहल्ला भएपछि राष्ट्रपतिले कसरी सुत्ने ? पार्टी सदस्य नै नरहेकाहरु प्रदेश सदस्य बन्ने, पार्टी प्रवेश गरेको १ वर्ष नपुग्दै समितिमा पुग्ने कुराप्रति पनि बैठकमा तीतो पोखाई भयो । प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा राख्ने विषयमा त्यहींका मुख्यमन्त्री र स्थानीय क्षेत्रका सांसदबाहेक अरुको इच्छा र सहमति नरहेको, दिपक निरौलाको अध्ययन समितिले निर्णय गर्न नसकेको, व्यापारीहरुको स्वार्थ हाबी भएको कुरा पनि राखियो ।
जनाआस्था साप्ताहिकबाट