‘सुशील,केपी,प्रचण्डभन्दा माथि सुवास नेम्वाङ नै हुन्’

काठमाण्डु टुडे २०७१ पुष १६ गते १३:५७ मा प्रकाशित

तपाईं बिपी कोइरालालाई कसरी सम्झनुहुन्छ ? बिपीलाई किन सम्झने ?

नेपाली काँग्रेसको सदस्य भएको नाताले एक वर्षमा एउटा पर्वको रुपमा कुनै तिथि पारेर मात्रै बिपीलाई सम्झनुको म धेरै अर्थ देख्दिनँ । पार्टीका तर्फबाट निर्णायक काम गर्दा बिपी कोइरालाले गर्नुभएका वा गर्न चाहेका कामको उत्प्रेरणा लिनु पर्ने हो । त्यही आलोकमा मेलमिलाप दिवसलाई लिनुपर्दछ । नेपालको वर्तमान राजनीतिक सन्दर्भमा नेपाली काँग्रेसले आजको दिनबाट लिनुपर्ने प्ररेरणा भनेको जस्तोसुकै प्रतिकुलताका बीचमा पनि नेपालका राजनीतिक शक्तिहरुका बीचमा पनि समन्यवय र समझदारी कायम गर्नु हो ।

gagan thapa

पञ्चायतकालमा बिपीले राजासँग मेलमिलाप गर्ने भनेका थिए । नेपाली कांग्रेसले आज कुन मुख्य शक्तिसँग मेलमिलाप गर्नुपर्ने हो ?
एउट समयको कालखण्डमा एउटा राजनीतिक नेताले गरेको निर्णयलाई यतिका वर्षपछि विश्लेषण गर्दा त्यसको मूल मर्मलाई केन्द्रमा राख्नुपर्छ । त्यसको मर्म भनेको नेपालको सार्वभौमसत्ताको, अखण्डताको सवालमा घरभित्रका राजनीतिक शक्तिहरुको मतभेदहरुलाई गौण मान्नु हो । यसको अर्थ आज संविधानसभाको सफलता संविधान निर्माणसँग गासिएको छ, संविधान निर्माणको सफलता नेपालको सफलतासँग गासिएको छ । नेपालको सफलता मुख्य राजनीतिक शक्तिहरुबीचको समझदारीसँग जोडिएको छ । त्यसैले नेपाली कांँगे्रसले यसबेलामा पुर्याउनु पर्ने विचार भनेको संविधानसभाभित्र रहेका शक्तिहरुका बीचमा समझदारीका लागि हर सम्भव उपाय र प्रयासहरु अबलम्बन गर्नुपर्छ ।

मेलमिलाप भनेको संस्थापन पक्षसँग गर्नेजस्तो बुझिन्छ बिपीका सन्दर्भमा । विद्रोही शक्तिसँग मेलमिलाप गर्नुपर्दैन ?

सवाल हाम्रो सार्वभौकितासँग जोडिन्छ । हामी नेपाल घरभित्र रहेकाहरु एक हुनुपर्दछ भन्न खोजेको के हो भने नेपालको सार्वभौमिकता आजको दिनमा संविधानसभाको सफलतासँग जोडिएको छ । हामी त्यसको सफलताका निम्ति अगाडि बढाउनु पर्ने हुन्छ । संविधानसभाको सफलता नेपालको सार्वभौमसत्तासँग जोडिएको छ त्यसैले हामीले हरसम्भव प्रयासबाट संविधानसभालाई सफल बनाउनु पर्ने हुन्छ । त्यसका निम्ती नेपाली काँग्रेसले हरसम्भव प्रयास गर्नु पर्दछ त्यो ।

मेलमिलाप दिवस कर्मकाण्डजस्तो मात्रै भएको लाग्दैन ? दिवस मनाउने तर अडान नछाड्ने !
यसलाई हिजोकै सन्दर्भमा भन्ने हो भने पनि बिपी कोइराला नेतृत्वको नेपाली काँग्रेसले मेलमिलापको प्रस्ताव राखिरहँदा प्रजातन्त्रको अडान छाडेको थियो र ? के नेपाली काँग्रेसले राजाको शासनलाई स्विकारेर त्यसैभित्र अटाउछु भनेको थियो र ? त्यसैले अहिले पनि प्रजातन्त्रका आधारभुत कुरा जुन नेपाली काँग्रेसको अस्थित्वसँग गासिएको छ त्यसमा ऊ दृढ निश्चिन्तकासाथ जोडिन्छ र अडिग रहन्छ, तर आजको राजनीतिक अभ्यासमा हाम्रा अधिकतम प्रयासहरु राजनीतक समझदारी गर्नु तर्फ लक्षित हुनु पर्दछ । प्रजातन्त्रको विकल्प नेपाली काँगेसका लागि कदापि ग्राह्य हुने छैन् तर प्रजातन्त्र भित्रका विकल्पहरुका सन्दर्भमा उसले आफ्ना कतिपय अडानहरुमा पुर्नविचार गर्न तयार हुनै पर्दछ ।

तपाईंले मंगलबार एक कार्यक्रममा सुवास नेम्वाङले सक्रियता देखाउनुपर्छ भन्नुभएछ । सुशील कोइराला, केपी ओली वा प्रचण्डप्रति विश्वास लाग्न छाड्यो ?
मैले आज आएर सुवासचन्द्र नेम्वाङ सक्रिय हुनु पर्छ भनेको होइन । संविधानसभामा म पहिलो पटक बोल्न पाउँदा पनि संविधानसभाका अध्यक्षको ध्यान आकर्षण गराएको थिएँ । मैले भनेको थिएँ– यो संविधानसभाको सफलताका लागि हामी सबै नयाँ अवतारमा प्रस्तुत हुनुपर्छ । हामी सभासदहरु कोही नयाँ अवतारमा आउन सकेनौ भने पनि कम्तीमा संविधानसभाका सभाध्यक्षका हैसियतले वहाँ सक्रिय हुनै पर्छ । सभाध्यक्ष संविधानसभाको राजनैतिक नेता हो र सभाको सफलताको गुरुदायित्व सबैभन्दा धेरै सभाध्यक्षले नै बहन गर्नु पर्दछ । वास्तवमा संविधानसभाका निम्ति सुशील कोइराला, केपी ओली अथवा प्रचण्ड बराबरै हो । आफ्नो पार्टीभित्र शीर्ष हुनुभयो वहाँहरु तर सभाभित्र सभासद बराबर नै हो । ती सबैभन्दा माथि सभाध्यक्ष नै हो । आफ्नो महत्वपूर्ण जिम्मेवारीमा वहाँ चुक्नु हुन्न ।

तपाईंलाई धेरैले युवा नेता भन्छन् । तपाईंले संविधान सभामा युवाका कुन कुन मुद्दामा लड्नुभएको छ ?
संविधानसभाको सफलता आजको महत्वपूर्ण सवाल हो । संविधानसभाबाट बन्ने संविधान संसारकै उत्कृष्ट हुनेछ, अकाट्य हुनेछ भन्ने कुरा बेकार हो । महत्वपुर्ण कुरा के हो भने हाम्रो प्रगतिका लागि बाधक नहुने संविधान निर्माण गर्नु ठुलो कुरा हो । योभन्दा ठुलो युवाहरुको मुद्दा नै छैन । त्यसभित्र युवाका केही विशेष विषयहरु स्वभाविक रुपमा जो रहन्छन् त्यसबारे हामीले अघिल्लै संविधानसभामा छफलपल गरेर टुंग्याइसक्यौं । अहिलेको संविधानसभामा युवाको प्रतिनिधि भएर गर्ने भनेको संविधानसभामा सहभागि दलहरुका बीचमा समझदारी निर्माण गर्नका निम्ति दबाब दिने हो, जुन हामी गरिरहेका छौ ।

बिपीलाई राजा महेन्द्रले अराष्ट्रिय तत्व भनेका थिए । अहिले पहिचान खोजेका समुदायलाई पनि विखण्डनकारी तत्व भन्न थालिएको छ नि ?
जननायक बिपी कोइरालाले नेपाली समाजको विविधता, विविधताका विशेषता र उत्पीडनका विषयलाई जसरी बुझनु भएको थियो, आत्मसात गर्नुभएको थियो र हल गर्ने प्रयास गर्नुभएको थियो, त्यो मर्मलाई ०४६ साल पछाडि नेपाली काँग्रेसले पक्रेर तदअनुरुप काम गर्न सकेको भए अहिले ती कुनै पनि विषय हाम्रा लागि आउने नै थिएन । त्यसैले कसले के भन्यो भनेर त्यसको पछि दर्गुनु भन्दा हामीले हम्रै समीक्षा गरेर सही समयमा सही निर्णय गर्नु पर्दछ भन्ने ठान्दछु ।

०३३ को बिपीको मेलमिलाप र अहिलेको राजनीतिबीच समानता र भिन्नता के हो ?
घरभित्रका राजनीतिक शक्तिबीचको समझदारीको आवश्यकता अहिलेको समानता हो । समझदारी त्यसबेला पनि चाहिएको थियो र अहिले पनि चाहिएको छ । त्योबेला प्रजातन्त्र हासिल गर्नु र स्थापना गर्नु मुल विषय थियो आज आन्दोलनबाट स्थापना भएको लोकतान्त्रिक मूल्यलाई स्थापीत गर्नु आवश्यकता छ ।

बिपीले राजनीतिमा मात्र नभएर साहित्यमा पनि योगदान गरे । उनको साहित्यिक योगदानलाई कसरी हेर्नुहुन्छ ?
म त्यसको क्षमता राख्दिन । म त्यस्तो पाठक हुँ जसले आफ्नो रुचिअनुसार उहाँका कतिपय साहित्यिक कृतिलाई अत्यन्त अब्बल कोटीमा राखेर हेर्ने गर्दछु, कतिपय कृतिलाई सामान्य कोटीमा राखेर हेर्छु । म बिपी कोइरालाको साहित्यबारे समालोचनात्क टिप्पणी गर्ने साहस राख्दिनँ ।

——————–

प्रस्तुति : नरेश ज्ञवाली/काठमाण्डु टुडे ।

———————-

र यो पनि पढ्औ

गगन थापासहित ५० वर्ष मुनिका सभासदले संविधानसभामै लगाउने भए ओछ्यान 

———

गगन थापाले किन गुहारे सुवास नेम्वाङलाई ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us