बाढी पीडितको सात वर्षदेखि जङ्गलमा बास, सरकार चुपचाप

काठमाण्डु टुडे २०७१ पुष १६ गते १०:३४ मा प्रकाशित

कञ्चनपुर, १६ पुस– दोदा र वनहरा नदीको बाढीले जग्गा कटान गरी घरबारविहीन बनाएपछि कञ्चनपुरको देखतभूली ६ तिलकीका बासिन्दा सात वर्षदेखि गाउँ नजिकैको सामुदायिक वनमा बस्दै आएका छन् ।

images (14)

गाउँ नजिकैको डिलासैनी सामुदायिक वनको वन्तरियामा २०६५ साल देखि ३२ परिवार झोपडी बनाएर बस्दै आएका हुन् ।

साँझ बिहानको छाक टार्नका लागि बुढापाका र महिलाले नजिकैको गाउँमा रहेका इँटाभट्टा, कोल्हु र कृषि मजदुर बनेर कार्य गर्दै आएका छन् भने युवा भने मजदुरीका लागि भारततर्फ लागेका छन् ।

मजदुरी गरेर आएको पैसाले खाना खर्च जुटाउन र लुगाफाटो खरिद गर्नमा खर्च गर्दै आएका ७० वर्षीय नत्थु रानाले बताए ।

उनले भने, ‘गाउँमा मजदुरी गर्दा ज्यालाबापत दिनभरि काम गरी एक सय देखि एक सय ५० ज्यालामात्रै पाउछौँ यसले जीवन धान्न गाह्रो भएको छ ।’

बस्दै आएको ठाउँमा एकमात्रै खानेपानीको व्यवस्था भएप्ीछ लाइनमा बसेर पानी थाप्नुपर्ने यहाँका बासिन्दाको समस्या रहेको छ ।

बस्दै आएको ठाउँ नजिकै विद्यालय भए पनि आर्थिक अभावले बालबालिकालाई पीडित परिवारले विद्यालय पु¥याउन सकेका छैनन् ।

बाढीले जग्गा घर बगाएर लगेपछि सरकारले पुनःस्थापनाका लागि कार्यक्रम अगाडि बढाउने जनाएको भए पनि हालसम्म पुनःस्थापनाका लागि पहल नगरेको वासुदेव रानाले बताए ।

जेठ वैशाखमा आउने हावाहुरीले रुख ढालेर मर्ने चिन्ता, वर्षात्मा झोपडी चुहिएर बस्नका लागि सास्ती र चिसोमा पर्याप्त लत्ताकपडाको अभावमा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता रहेको यहाँका बाढीपीडित परिवारले दुखेसो पोखे ।

जिविस, गाविस र सरकारी कुनै पनि निकायले सहयोग गर्न अघि नसर्ने भएकाले पनि अवस्था नाजुक बन्दै गएको पीडित परिवारको भनाइ रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us