काठमाण्डु, १६ पुस– कांग्रेस–एमालेले बहुमतका आधार संविधान घोषणा गर्ने तयारी गरिरहेकै बेला उनीहरुका युवा सभासद्हरुले पनि माघ ८ गतेभित्रै संविधान लेख्नुपर्छ भन्दै धर्नालगायतका आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् ।
संविधान लेखनका लागि दबाब दिने भन्दै कांग्रेस–एमाले लगायतका सत्तारुढ दलका युवा सभासद्हरुले घेराउ, धर्ना, हस्ताक्षरलगायतका कार्यक्रम गर्ने भएका हुन् ।
आज सिंहदरवारस्थित अर्थ समितिको कार्यलयमा भेला भएका सभासद्हरुले संविधान निर्माणका लागि दबाब अभियान’ समूह गठन गरेर निर्धारित मितिमै संविधान लेखनका लागि दबाब दिने सहमति भएको भेलामा सहभागी नेकपा(एमाले)का सभासद् गरिमा शाहले जानकारी दिइन् ।
भेलाले दलका शिर्ष नेताहरु र सभामुखलाई भेटी निर्धारित मितिमै संविधान लेखनका लागि दबाब दिने, सभासद्बीच छलफल अन्तरक्रिया गर्ने तय गरेको छ ।
पुस २५ गतेभित्र संविधान प्रक्रिया अगाडि नबढे संविधानसभामै सभासद्हरुको बृहत भेला गरी थप आन्दोलन चर्काउने निर्णय भएको सभासद् शाहले बताइन् ।
भेलामा कांग्रेसका चन्द्र भण्डारी, गगन थापा, एमालेका प्रकाश ज्वाला, राजन भट्टराई, नेकपा (संयुक्त)का प्रमिला राणा, नेपाल परिवार दलकी मिलन कुमारी राजवंशीलगायत सभासद्को सहभागिता रहेको थियो ।