
कपिलवस्तु, १६ पुस–भारतको मुम्बइस्थित भिवन्डीमा जलेर ज्यान गुमाएका मृतकका परिवारले नेपालमै शवको सत्गत् गर्ने व्यवस्था मिलाइदिन इच्छा जाहेर गरेका छन् ।
गत पुस ११ गते काठ उद्योगमा जलेर कुशहवा ८ सतभराका पाँच र बरइपुरका दुई गरी सातजनाको मृत्यु भएको थियो भने सतभाराकै तीनजना सख्त घाइते भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै मृतक परिवारमध्येका तीनजना १२ गते बिहानै मुम्बइतर्फ लागेका थिए । भएका दुई छोरा ३२ वर्षीय गौरी र २५ वर्षीय राजु लोनियाको अकालमा मृत्यु भएपछि आमा उत्तमा अहिले पनि बेहालमा छिन् ।
उने दुःख व्यक्त गर्दै भनिन् ‘छोराहरुको ज्यान त गयो, उनीहरुको मुखसम्म हेर्ने इच्छा छ, यसका लागि कसैले पहल गरिदिए हुन्थ्यो ।’ उता मृतक राजुकी श्रीमती विद्यामतिको पनि एकपटक श्रीमान्को मुखसम्म हेर्ने चाहना व्यक्त गरिन् ।
क्षतिपूर्ति पाउने सम्भावना भए पनि मृतकको शरीर चिन्नै नसकिने गरी जलेकाले मुम्बइमा शवको सद्गत् गर्ने सम्भावना रहेको बताइएको छ ।
घटनामा सतभराका गौरी र राजु लोनिया, मुन्नीलाल यादव, लौटु मुराउ र सनी रैदासको जलेर मृत्यु भएको थियोे । घटनामा सोही गाविसका तीनजना युवा सख्त घाइते भएका छन् । रासस