
काठमाण्डु, १६ पुस– ८ माघको आसपास नवगठित नेकपा माअोवादीले ठूलै वितण्ड मच्चाउने चर्चा देशभित्र चलिरहेका बेला सरकारी संयन्त्रको आँखा छल्दै र तथाकथित राजनीतिक विश्लेषकलाई चक्मा ख्वाउँदै विप्लवले विदेशीबीच चाहिं दह्रो चलखेल गरेको प्रमाण भेटिएको छ ।
गृह प्रशासन माओवादी केन्द्रित सुरक्षा रणनीति तर्जुमामा जुटेका बेला उनले संयुक्त राष्ट्रसंघको नेपालस्थित प्रतिनिधि जेमी म्याकगोल्डरिकलाई भेटेका छन् भने आफ्ना विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालाई सुटुक्क बेइजिङ पठाएर त्यहाँका कम्युनिष्ट नेतालाई पार्टी विभाजन अघि–पछिको वस्तुस्थितिबारे ब्रिफिङ गर्न भ्याएका छन् । ‘तपाईंहरु एकचोटि जंगल जानुहुन्छ कि भन्ने लागेको छ, अन्तर्राष्ट्रिय समुदायलाई भन्ने राष्ट्रसंघको आशंकामा आफ्ना दुई जर्नेल खड्गबहादुर विक ‘प्रकाण्ड’ र धर्मेन्द्र वास्तोलालाई दायाँ–बायाँ राख्दै यसरी आश्वस्त तुल्याएका छन्, ‘त्यतातिर सोच्दै नसोच्न्स ।’
उता २० तारिख आसपास चीनतिर लागेका धर्मेन्द्र वास्तोला पनि आफ्नो मिसन सकेर माओजयन्ती मनाउन नेपाल आइसकेका छन् ।
देव गुरुङले पार्टी विभाजनका निम्ति दक्षिणतिर दोष लगाइरहेका बेला विप्लवको चाइना कनेक्सन भेटिएपछि बादललाई उत्तरको भूमिकाप्रति खुल्दुली लाग्न थालेको बताइन्छ ।
वैशाख दोश्रो साता कुलप्रसाद केसी सोनामको नेतृत्वमा बेइजिङ पुगेको करिब दर्जन युवालाई उताका नेताले दिएको एउटा जानकारी भने माओवादीभित्र आन्तरिक द्वन्द्व निम्त्याउनका निम्ति काफी छ । सुनसरीकी सरस्वती पोखरेल, मायाप्रसाद शर्मा (जाजरकोट), सम्झना घर्ती (रोल्पा), इन्द्र आङ्बो ‘मौसम’ (इलाम), श्रीनाथ अधिकारी (गोरखा) सम्मिलित टोलीसँग पहिलो भेटमै उनीहरुले भनेछन्, ‘हामीले विप्लवजीको नेतृत्वमा टोली बनाएका थियौं तर के कारणले हो उहाँ आसन सक्नुभएन ।’
यही महिनाको सुरुमा काठमाण्डु ओर्लीएका अन्तर्राष्ट्रिय विभाग हेर्ने उपमन्त्री छेन फेङसियाङले पनि भनेका रहेछन्, ‘विप्लवजीसँग हाम्रो दुईवटा भेटघाट मिस भयो ।’अर्थात नामै तोकेर चाइनिजले विप्लवलाई किन बेलाउँछन्, भेट्छन् भन्ने वैद्य समूहभित्रको आशंकामा उनीबाट सूचना लुकाइँदो रहेछ ।
कतिपय कुरा उनलाई थाहै नदिई गुपचुपमा काम चल्दो रहेछ ।
पार्टी फुटेपछिका अन्तरंग कुराकानीमार्फत यस्ता कुरा खुल्न थालेका छन् । आममानिसले सोचेजस्तो विप्लवहरु अहिले वितण्डा मच्चाउने मुडमा देखिन्न् । उनीहरुको धेय छ, ‘प्रतिगमनको नाइकेका रुपमा काँग्रेस देखा परेकाले तत्कालका निम्ति उसैलाई ठोक्ने । सबैखाले बामसँग कार्यगत एकता गर्दै रहने ।
एकचोटि सबैतिर झ्यामझुम हान्दा आफू एक्लिने खतरा रहेकाले एमालेलगायत दलसँग वार्ता अघि बढाउने । केही गरी माघ ८ गते संविधान जारी भए त्यसलाई जलाउने खालको कार्यक्रम गर्ने अन्यथा जनवर्गीय संगठन र मोर्चाको सम्मेलनमा केन्द्रित रहने ।
यस क्रममा उनीहरुले समग्र माओवादी आन्दोलन जनताबाट कटेको निष्कर्ष निकाल्दै लोकप्रिय प्रकृतिका कार्यक्रम बनाउँदै गरेको बुझिएको छ ।
जनआस्था साप्ताहिकबाट