सरकारी कार्यालय नै तिर्दैनन् करोडौँ महसुल

काठमाण्डु टुडे २०७१ पुष १५ गते ११:१६ मा प्रकाशित

 वीरगन्ज, १५ पुस–विद्युत् महसुलबापत पर्सामा सरकारी कार्यालयबाट करोडौँ रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

nepali money

तीमध्ये सबैभन्दा बढी वीरगन्ज उपमहानगरपालिकालाई करिब नौ करोड विद्युत् महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ ।

केन्द्रका अनुसार, वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको बसपार्कवाट २६ लाख ५४ हजार, सामुदायिक विकास भवनबाट १२ लाख ७९ हजार, उपमहानगरपालिकाको कार्यालय भवनको करिब ३० लाख, घडिअर्वा पोखरी परिसरबाट छ लाख ८७ हजार, स्वीमिङ पुल परिसरबाट १६ लाख ६८ हजार, टाउन हलबाट तीन लाख ५६ हजार तथा सबैभन्दा बढी सडक बत्तीबाट सात करोड ८४ लाख ३४ हजार विद्युत् महसुल बक्यौता रहेको छ ।

वीरगन्ज उपमहानगरपालिकाले घडिअर्वा पोखरी परिसर र स्वीमिङ पुल परिसरको सञ्चालन वा व्यवस्थापनको जिम्मा अहिले ठेक्कामार्फत निजी क्षेत्रलाई दिइसकेको छ ।

यसैगरी नारायणी उपक्षेत्रीय अस्पताल तथा ऐश्वर्य प्रसूति गृहसमेत गरी करिब ९५ लाख, ठाकुरराम बहुमुखी क्याम्पसबाट २४ लाख ७७ हजार तथा खानेपानी संस्थानबाट १४ लाख १५ हजार विद्युत् महसुल बक्यौता रहेको केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख इन्जिनियर ऋषिकुमार वर्णवालले भने ‘सरकारी कार्यालयबाटै लामो समयदेखि विद्युत् महसुल बा“की बक्यौता राख्दा समस्या उत्पन्न भइरहेको छ, विद्युत् महसुल तिर्न बाँकी रहेका सरकारी कार्यालयमध्ये अधिकांशलाई पटक–पटक मौखिक र लिखित आग्रह गर्दासमेत अटेर गरेर बसिरहेका छन् ।’

प्रमुख बर्णवालले विद्युत् महसुल नतिरी अटेर गर्ने त्यस्ता कार्यालयमा विद्युत् बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us