पूर्वराजा वीरेन्द्रको जग्गामा कसले गरिरहेछ राजनीति ?

काठमाण्डु टुडे २०७१ पुष १५ गते ११:०४ मा प्रकाशित

सुर्खेत, १५ पुस– देश गणतन्त्रात्मक व्यवस्थामा गएको पनि आधा दशक नाघिसक्यो । तर, पूर्वराजा वीरेन्द्रको जग्गा नेपाल ट्रस्टमा ल्याएर पनि अहिलेसम्म उपयोगविहीन अवस्थामा छ ।

Birendra Shah

कुनै बेला क्षेत्रीयस्तरको दरबार स्थापना गर्ने भनी निकै चर्चा पाएको सुर्खेतस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको ठूलो परिमाणको जग्गा यतिबेला उपयोगहीन अवस्थामा रहेको हो ।

सुर्खेतको साविक लाटिकोइली गाविस र हाल वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको ३४ बिगाहा सात कट्ठा पौने ५ धुर (दुई लाख ३२ हजार ७२० वर्ग मिटर) जग्गा २०६३ सालपछि नेपाल ट्रस्टको स्वामित्वमा गइसक्दा पनि प्रयोगविहीन अवस्थामै रहेको छ ।

नेपाल सरकारले पूर्वराजपरिवार र संस्थाको सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा स्वतः जाने व्यवस्था मिलाए तापनि हालसम्म सो जग्गाको जग्गा धनीको नाम ‘श्री ५ महाराजधिराज सरकार’ कायमै राखिएको छ । साविकको लाटिकोइली गाविस र हालको वीरेन्द्रनगर–१३ अन्तर्गत, लाटिकोइली–४–च, कित्ता नं १ को सो जग्गा २०३४ साल वैशाख २ गते पूर्व राजा वीरेन्द्रको नाममा कायम भएको जिल्ला नापी शाखा कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।

‘भूमिसुधार मन्त्रालय तथा भूमिसुधार विभागको आदेशअनुसार प्राप्त भएको भूमिसुधार प्रशासन सुर्खेतको पत्र सङ्ख्या २६५÷०३३÷०३४ मिति २०३३ चैत ३० को पत्र बमोजिम संलग्न प्रिन्ट नक्सालाई सक्कल नक्सा मानी सोही नक्साको आधारमा आदेशअनुसार जग्गा कायम गरिएको छ’ भनी पूर्वराजा वीरेन्द्रको नाममा सो जग्गा कायम रहेको उक्त जग्गाको स्रेस्तामा उल्लेख गरिएको नापी कार्यालय सुर्खेतकी निमित्त कार्यालय प्रमुख मेनका खड्का बताएका छन् ।

नापी शाखा सुर्खेतको स्रेस्तामा उल्लेख भएअनुसार ‘पूर्वमा–बाटो (रत्नराजमार्ग), पश्चिममा–श्रीखोला, उत्तरमा–जङ्गल, दक्षिणमा–बाटो’ देखाई चारकिल्ला निर्धारण गरिएको पूर्वराजा वीरेन्द्रको नाममा रहेको सो ‘पाखा, चाहर’ जग्गा नेपाल ट्रस्टको स्वामित्वमा गएको लामो समय बितिसक्दा पनि जग्गा सदुपयोगको प्रक्रिया अघि बढ्न सकेको छैन ।

विसं २०६३ पछि नेपाल सरकारले राजपरिवार र त्यसका सदस्यको नाममा रहेको जग्गा तथा भौतिक संरचना स्वतः नेपाल ट्रस्टको संरक्षण र स्वामित्वमा रहने व्यवस्था ऐनमार्फत गरिसकेकाले त्यो जग्गाको संरक्षण र सदुपयोगको निर्णय गर्ने अधिकार नेपाल ट्रस्टमा निहीत रहेको छ ।

यस्ता जग्गा तथा त्यसबाट आएको आम्दानीलाई सामाजिक सेवाको क्षेत्रमा लगानी गर्नुपर्ने ऐनमा उल्लेख भए तापनि सुर्खेतस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको (हाल नेपाल ट्रस्टको स्वामित्वमा रहेको) सो जग्गा कुन प्रयोजनका लागि प्रयोग गर्ने वा के गर्ने भन्ने सम्बन्धमा कुनै जानकारी नआएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा बताउँछन् ।

कोहलपुर–सुर्खेत रत्नराजमार्गसँग जोडिएको, सदाबहार बगिरहने भेरी नदीसँग जोडिएको, सुर्खेत उपत्यकाको उच्च स्थानमा रहेको सो जग्गा बसोवासका लागि अत्यन्त उत्कृष्ट रहेको र उक्त स्थानबाट उपत्यकाको सम्पूर्ण भूभागको दृश्यावलोकनसमेत गर्न सकिने भएकाले विसं २०२९ को नापी अभियानको अन्ततिर पूर्व राजाले क्षेत्रीयस्तरको दरबार स्थापना गर्न भनी सो जग्गा छुट्याउन लगाएको जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति वसन्त थापा बताउँछन् ।

मध्यपश्चिम क्षेत्रको सम्पूर्ण विकास तथा प्रशासनिक कार्यको अनुगमन तथा मूल्याङ्कन र क्षेत्र भ्रमणका क्रममा राजपरिवारको बसोवासका लागिसमेत भनी उक्त स्थानमा सुविधा सम्पन्न क्षेत्रीय दरबार स्थापना गर्ने कुरा चले पनि विविध कारणवस सो कार्य पूरा हुन नसकेको पूर्व जिविस सभापति थापा बताउँछन् ।

तत्कालीन अवस्थामा विभिन्न कारणले दरबार निर्माण कार्य अगाडि बढ्न नसके पनि हाल आएर नेपाल सरकारले नेपाल ट्रस्टको स्वामित्वमा सुम्पिसकेको सो जग्गा यसरी उपयोगविहीन बनाएर राख्नु हुँदैन । ‘कि राज्यले कुनै नयाँ प्रयोजनमा लानुपर्छ, कि त्यसबाट आर्थिक आम्दानी हुने बाटो अवलम्बन गर्नुपर्छ कि त संरक्षित क्षेत्र भनी घोषणा गर्दा उपयुक्त हुन्छ,’ पूर्व सभापति थापाले बताए ।

विसं २०२९ को नापीबाट साविक लाटिकोइली गाविसमा पूर्व राजा वीरेन्द्र, बुलबुले उद्यान क्षेत्र र हाल नेपाली सेनाको छावनी रहेको मंगलगढी क्षेत्रको जग्गा पनि यसरी छुट्याइए पनि यी तीनवटै स्थानबाट हालसम्म राजस्व संकलन भएको देखिँदैन । बुलबुले उद्यान र मंगलगढी क्षेत्रको जग्गाको राजस्व असुली लगत श्रेस्ता तय भएपनि वीरेन्द्रको नामको सो जग्गाको राजस्व असुली लगत स्रेस्तासमेत कायम नदेखिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

विसं २०४६ सम्म सो जग्गाबारे बोल्न र खोजतलास गर्न आँट कसैले गर्न सकेनन् । प्रजातन्त्र पुनःस्थापनापछि खोजी र उपयोगको बाटोमा लाग्नुपथ्र्यो त्यो पनि भएन । वर्तमानमा राजसंस्था नै नरहेको अवस्था र सो जग्गा नेपाल ट्रस्टको स्वामित्वमा गई सक्दासमेत जग्गाको सही उपयोग र आम्दानी उन्मुख गराउनतर्फ कतैबाट पनि पहल नगरिनु निराशाजनक कुरा भएको राजनीतिकशास्त्रका उपप्राध्यापक तथा अधिवक्ता दुर्गा सापकोटा बताउँछन् ।

रत्नराजमार्ग, भेरी नदी र सुर्खेत उपत्यकाको दक्षिण पूर्र्वी क्षेत्रमा रहेको सो जग्गा जङ्गल रहेकाले अहिले स्थानीय देउती बज्यै, जनचेतना र भेरी गरी तीनवटा सामुदायिक वन उपभोक्ता समितिले भोगचलन गर्दै आइरहेको बुझिएको छ । यसको केही भाग राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्दछ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us