
काठमाण्डु, १४ पुस– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नवगठित नेकपा माओवादीले बैंक लुटपाटामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक केन्द्रीय सदस्यसहित चार जनालाई निलम्बन गरेको छ ।
केन्द्रीय सदस्य दीपक चलाउनेले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाममा अपराधिक गतिविधि गरेकाले उनीहरुलाई निलम्बन गरिएको जनाएका हुन् ।
निलम्बनमा पर्नेमा केन्द्रीय सदस्य एवम् पूर्वलडाकु कमाण्डर विजय केसी ‘विकल्प’, लगायत छन् । ‘समाजमा हुने जुनसुकै प्रकारका आपराधिक घटनाहरुप्रति हाम्रो संगठन खेद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘संगठनको आदर्शविपरीत जिम्मेवार केन्द्रीय सदस्यको नाम जोडिन आएकोले सत्यतथ्य छानबिन गर्न सहयोग हुने विश्वाससहित आजैका मितिदेखि उहाँलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरीएको जानकारी सार्वजनिक गर्दछौँ ।’
पोखराको न्यूरोडस्थित यति डेभलपमेन्ट बैंकको रकम र रौतहटको चन्द्रनिगाहपुरस्थित नेपाल एसबीआई बैंकको शाखाबाट झिकेको रकम लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारैजना प्रहरी हिरासतमा छन् ।
बैंक लुटपाटमा संलगन रहेको आरोपमा प्रहरीले रोल्पा घोडागाउँ–१ का केसी, चन्द्रनिगाहपुर–१ कप्तानटोलका सुशीलकुमार दुलाल, रुकुम घर भई हाल दाङ बस्ने पूर्वलडाकु वसन्त गिरी, सिन्धुली पीपलमाणि–१ बस्ने नारायण राई र सल्यानका उज्ज्वल रोकाय क्षेत्रीलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै पूर्वलडाकु हुन् । पछिल्लो समय उनीहरु विप्वल नेतृत्वको माओवादीमा थिए ।
उनीहरुले गत वैशाख १५ गते पोखराबाट यती डेभलपमेन्ट बैंककका कर्मचारी भगवान् बरालमाथि गोली प्रहार गरी ३१ लाख ४२ हजार रुपैयाँ लुटेका थिए ।