एनआरएनले पनि माग्यो नागरिकता

काठमाण्डु टुडे २०७१ पुष १४ गते ६:३८ मा प्रकाशित

NRN_logoकाठमाण्डु, १४ पुस– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सन्तानहरुका लागि पनि नेपाली नागरिकता मागेको छ । अन्तरिम संविधान र नागरिकतासम्बन्धी नेपाली ऐन लैंगिक मैत्री नभएको भन्दै एनआरएनले सभामुख र सभासद्को ध्यानाकर्षण समेत गराएको छ ।

‘नेपालले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सम्झौता पत्रमा सहमति जनाई हस्ताक्षर गरिसकेको अवस्थामा नेपालको नागरिकता ऐन २०६३ यसको भावना र मर्म अनुरुप नभएको संघको धारणा रहेको छ,’ संघका प्रवक्ता मन केसीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

नेपाली नागरिकता ऐन २०६३ का प्रावधानहरुले पनि अधिकांश नेपाली महिलाहरुबाट जन्मेका सन्तानहरुलाई राज्यविहीन हुने अवस्था सृजना गरेको संघले उल्लेख गरेको छ ।

संघले भनेको छ, ‘अब बन्ने संविधानले लैंगिक समानताको सम्बोधन गर्न नेपालभित्र वा नेपालबाहिर, नेपाली आमा वा नेपाली बाबुबाट जन्मेका प्रत्येक बच्चाले नेपाली राष्ट्रियता उपभोग गरी राज्यविहीनताको स्थितिको सामना गर्नु नपर्नेे व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने संघको सुझाव रहेको छ ।’
पुख्र्यौली रुपमा बा वा आमा नेपाली भएका आधारमा नागरिकता दिंदा नेपालको आर्थिक विकास र राजनीतिक स्थायित्व हुने एनआरएनको दाबी छ । उसले भनेको छ, ‘संविधानसभाले नेपाली माता वा नेपाली पिताको आनुवंशिक नागरिकताका आधारमा ती बच्चाहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने मान्यता प्रदान गर्दा राष्ट्रको आर्थिक विकास, राजनीतिक स्थायीत्वका साथै लोकतान्त्रिक निरन्तरलाई योगदान पु¥याउने छ ।’
केही समय यता नागरिकता प्राप्त गर्न आमा र बा दुवै नेपाली हुनुपर्ने कि आमा वा बामध्ये कुनै एकजना नेपाली भए हुने भन्ने बहसले सार्वजनिक चासो बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us