काठमाण्डु, १४ पुस– कालिमाटीस्थित जनप्रभात स्कुलका शिक्षक धनेश्वरप्रसाद साहमाथि छात्राहरुले यौनहिंसाको आरोप लगाए । कक्षा ३ देखि ५ सम्मका छात्राले आफूहरुमाथि यौनहिंसा भएको बयानसहित उजुरी दर्ता गराएपछि महानगरीय प्रहरी प्रभाग कालिमाटीले साहलाई पक्राउ गरी हनुमानढोका प्रहरी कार्यालय पठाइदियो ।
हनुमानढोकाले आरोपी साहलाई १२ दिन थुनामा राख्यो । उनीमाथि केही सार्वजनिक मुद्दा चलिरहेको काठमाण्डु प्रहरी परिसरका डिएसपी दिनेश आर्चायले बताए ।
यो त प्रहरीमा परेका मुद्दा, कतिपय घटना भने प्रहरीको जानकारीमै आउँदैनन । यौनहिंसामा पीडित भएपछि प्रहरीकहाँ उजुरी गर्नु साटो अभिभावकले मनोविज्ञकहाँ उपचार गर्न लैजान्छन । ‘सामाजिक डर र लोकलाजले धेरैं घटना हामीकहाँ आइपुग्दैनन्’ डिएसपी आर्चायले भने ।
नेसनल इन्स्टिच्युट अफ साइकोलोजीका प्रमुख मनोविज्ञ डा. गंगा पाठकले आफूकहाँ महिनाको दूई जना यौनहिंसा पीडित ८ –१४ वर्ष उमेरका छात्रा आउने गरेको बताइन् । उनका अनुसार गौशालास्थित एक नाम चलेको निजी विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा पनि शिक्षकको यौन हिंसाबाट पीडित भएकी थिइन ।
‘शिक्षकले गालामा चुम्बन गर्ने र छाती चिमोटने गरेको छात्राले बताएकी थिइन, यो घटनाले ती छात्रा विक्षिप्त भइन्’, पाठकले भनिन, ‘अहिले उनी मेरै क्लिनिकमा उपचार गराइरहेकी छन् ।’
नागरिक दैनिकबाट