काठमाण्डु, १३ पुस– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेपछि आफू नेतृत्व लिन तयार भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा आइतबार उनले ३० वर्षे राजनीतिक जीवनमा आफूले कहिल्यै नेतृत्व नमागेको बताए ।
यसपटक पनि आफूले मागेको नभई प्रचण्डले आग्रह गरेकाले नेतृत्व लिन अग्रसर भएको दाबी उनको थियो ।
‘३० वर्ष लामो राजनीतिक जीवनमा कहिल्यै पदप्रति आशक्त भइनँ र पद माग्ने काम पनि गरिनँ’, उनले भने, ‘यसपटक कमरेड प्रचण्डले गरेको आग्रह स्वीकार गरेर नेतृत्व लिन तयार भएको हुँ ।’ भट्टराईले आफ्नो परीक्षा लिन केन्द्रीय सदस्यहरुलाई आग्रहसमेत गरेका थिए ।
प्रचण्ड मुल नेतृत्वमा नरहे पनि उनलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने भट्टराईले बताए । कस्तो जिम्मेवारी दिने भन्नेबारे उनले थप खुलाएनन् ।
दुई नेताबीच आगामी वर्ष माघमा हुने विशेष महाधिवशेनबाट सांगठनिक र वैचारिक नेतृत्व बाँडेर लिने भद्र सहमति यसअघि नै भइसकेको छ ।
प्रचण्डले महाधिवशेनमा बाबुरामलाई अध्यक्ष प्रस्ताव गर्ने र बाबुरामले प्रचण्ड पथभन्दा माथिल्लो स्तरको वैचारिक संश्लेषण गरी वैचारिक प्रधिकार प्रचण्डमा दिने प्रस्ताव गर्ने सहमति छ ।
जारी बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा भने महाधिवेशनबाट नेतृत्व हस्तान्तरणसम्बन्धी विधि निश्चित गर्ने उल्लेख छ ।
नेता भट्टराईले आफूले एमाओवादीलाई नै नयाँ शक्तिमा रुपान्तरण गर्न बहस थालेको भन्दै ‘बाहिरबाट मान्छे ल्याएर’ पार्टी बनाउने कुरा कहल्यै नगरेको दाबी गरे ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने प्रचण्डले दिने र बाबुरामले लिने सहमति भइसकेकाले त्यसबारे आफ्नो कुनै टिप्पणी नरहेको बताए । उनले अहिले पनि बाबुराम प्रचण्डपछि पार्टीको दोश्रो बरियतामा रहेको भन्दै नेतृत्व स्वकार गरेर जान आफूलाई अप्ठेरो नपर्ने उल्लेख गरे ।
श्रेष्ठले कम्युनिष्ट पार्टीमा विचारको बहस सही ढंगले नहुने गरेको भन्दै गम्भीर हुन सबैलाई आग्रह गरे । ‘हिजो प्रचण्डलाई दरबारिया र बाबरामलाई भारतीय एजेन्ट भन्ने तपाईंहरु नै हो’, श्रेष्ठले भने, ‘आज फेरि कोही जनयुद्ध लडेको र कोही जनयुद्ध नलडेको भनेर जसरी छुट्याउन खोज्दै हुनुहुन्छ, यो गलत छ ।’
उनले पुष्पलाललाई गद्धार र निर्मल लामालाई ‘बहुलाहा’ को आरोप लगाउने स्कुलिङको प्रभाव पार्टीमा अझै कायम रहेको टिप्पणी गरे ।