
काठमाण्डु, १३ पुस– एकीकृत माओवादी नेता गोपाल किरातीले पार्टीले फौजी कार्यदिशा तय गर्नुपर्ने प्रस्ताव जारी केन्द्रीय समिति बैठकमा लैजाने भएका छन् ।
किरातीले आफूले लिखित रुपमै उक्त प्रस्ताव बैठकमा लैजाने तयारी गरेका हुन् । प्रस्ताव अस्वीकृत भए फरक मतका रुपमा तलसम्म छलफलमा लैजाने वातावरण बनाउन संघर्ष गर्ने उनले बताए । उनले पार्टीले जारी बैठकबाटै समाजवादी क्रान्तिको फौजी कार्यदिशा तय गर्नुपर्ने जिकिर गरे ।
त्यसो भए प्रचण्डले जो कसैलाई नेतृत्व हस्तान्तरण गर्दा फरक नपर्ने उनको बुझाइ छ । ‘नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेमा आपत्ति छैन’, किरातीले भने, ‘तर पार्टीले यही बैठकबाट समाजवादी क्रान्तिको फौजी कार्यपिदशा तय गर्नुपर्छ ।’
उनले सर्वहारा वर्गको कम्युनिष्ट पार्टीसँग स्वत: र अनिवार्य फौजी कार्यैदिशा हुनुपर्ने भए पनि विगतमा त्यसलाई छाडिएका कारण पार्टीमा समस्या आएको जिकिर गरे ।
कार्यदिशा सच्याएर समाजवादी क्रान्तिको फौजी कार्यदिशा तय गर्नेबित्तिकै मोहन वैद्य र नेक्रविक्रम चन्द नेतृत्वका माओवादी आफूहरुतिरै आउने दाबी उनले गरे ।
‘कार्यदिशामा विवाद भएर उहाँहरु जानुभएको हो’, किरातीले भने, ‘समाजवादी क्रान्तिको फौजी कार्यदिशाले वैद्यजी र विप्लवजीलाई पनि पार्टीमा फर्कने बाटो खुल्नेछ ।’
किरातीले यही बैठकले पार्टीको पथप्रदर्शक सिद्धान्त ‘प्रचण्ड विचारधारा’ तय गर्नुपर्ने समेत उल्लेख गरे । यद्यपि उनको प्रचण्ड विचारधारा बनाउने प्रस्ताव अध्यक्ष प्रचण्डले यसअघि नै अस्वीकार गरिसकेका छन् ।