वैद्यको भेलामा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै

काठमाण्डु टुडे २०७१ पुष १३ गते ३:५३ मा प्रकाशित

maoist-flagकाठमाण्डुु, १३ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको राजधानीमा जारी राष्ट्रिय भेलामा आज अध्यक्ष समूहगत छलफलको निष्कर्ष पेश हुँदैछ ।
शुक्रबार सुरु भेलामा अध्यक्ष वैद्यले पेश गरेको २६ पृष्ठ लामो प्रतिवेदनमाथि छलफल गर्न देशभरबाट आएका नौ सय प्रतिनिधिलाई विभिन्न १८ समूहमा बाँडिएको थियो ।

आज टोली नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने र त्यसबारे अध्यक्ष वैद्यसहित शीर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
वैद्यले आफ्नो प्रस्तावमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, पार्टीको भावी कार्यदिशा र नेत्रविक्रम चन्द ‘विप्लव’ ले गराएको पार्टी विभाजनलगायत विषय समेटेका छन् ।
उनले मैजुदा केन्द्रीय समितिलाई विशेष महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवशेन गर्न प्रस्ताव गरेका छन् ।

तीन दिनका लागि बोलाइएको भेला समूहगत छलफलमा बढी समय लागेका कारण थप एक दिन लम्बिन सक्ने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us