कसले लाँदैछ प्रचण्ड र बाबुरामविरुद्ध पेरिसडाँडामा फरक मत ?

काठमाण्डु टुडे २०७१ पुष १३ गते ३:४३ मा प्रकाशित

prachanda-baburamकाठमाण्डु, १३ पुस– यसअघि दुईपटक सम्म स्थगित भएको एमाओवादी केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

बैठक कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि बस्ने केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष प्रचण्डका स्वकीयसचिव चुडामणि खड्काले जानकारी दिए ।

यसअघि गत पुस १ र ६ गते बोलाइएको बैठक नेताहरु संविधान निर्माणमा व्यस्त हुनुपरेको कारण देखाउँदै स्थगित गरिएको थियो ।

गत वैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उत्पन्न किचलोका कारण ६ महिनासम्म बस्न नसकेको बैठक नेताहरुबीच पद बाँडफाँडमा कुरा मिलेपछि गत मंसिर अन्तिम साता सुरु भएको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने र आगामी २०७२ सालको माघ अन्तिम साता विशेष महाधिवेशन गर्ने प्रस्तावमा छलफल हुनेछ ।
उनको प्रस्तावमा महाधिवेशनले नेतृत्व हस्तान्तरणसम्बन्धी विधि ठोस गर्ने उल्लेख छ । प्रचण्ड र नेता बाबुराम भट्टराईबीच वैचारिक र संगठनात्मक नेतृत्व बाँडेर लिने सहमति भएपछि एमाओवादीमा नेतृत्व हस्तान्तरणको बहस सुरु भएको हो ।

स्रोतका अनुसार बैठकमा दुई नेताबीचको सहमतिबारे केही केन्द्रीय सदस्यले फरक मत लैजाने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us