
काठमाण्डु, १२ पुस– हिन्दू राष्ट्र पुनस्र्थापना अभियानका संयोजक एवम् काँग्रेस नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र नभए मुलुकमा धार्मिक युद्ध गर्ने धम्की दिएका छन् ।
राजधानीमा शनिबार भएको एक कार्यक्रममा खड्काले नयाँ संविधानमा धर्मनिरपेक्षता राखिए धार्मिक युद्ध हुने चेतावनी दिएका हुन् । धार्मिक युद्द भए मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ थियो ।
खड्काले विदेशीको इशारामा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएको आरोपसमेत लगाए । ‘विदेशीको डिजाइनमा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएको हो’, खड्काले भने, ‘यदि संविधानमा धर्मनिरपेक्षता राखियो भने हिन्दू राज्यका लागि धार्मिक युद्द हुन्छ ।’
पूर्वगृहमन्त्री समेत रहेका खड्काले राजाको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव राख्दा आफ्नो विरोध गर्ने आफ्नै पार्टीका नेता गणतन्त्रवादी भएर आफूमाथि राजावादी आरोप लगाएकामा आश्चर्य व्यक्त गरे ।
‘राजाको अधिकार कटौतीको प्रस्ताव राख्दा विरोध गर्नेहरु रातारात कसरी गणतन्त्रवादी भए मलाई अचम्म लाग्छ’, खड्काले भने ।