काठमाण्डु – इलाम लेलेप–९ घुन्साकी २८ वर्षीया छुकी शेर्पाको सुत्केरी भएको छ दिनमा ज्यान गयो । सुत्केरी अवस्थामा रक्तश्राव नरोकिएर छुकीको ज्यान गएको स्थानीय घुन्सा निम्न माध्यमिक विद्यालयकी शिक्षिका तेन्जिडोमा शेर्पा बताउँछिन् ।
उनी भन्छिन्, ‘बच्चा त राम्रै थियो । बच्चा जन्मिएदेखि नै आमाको रक्तश्राव रोकिएन । डाक्टर ल्याउन पनि को आइदिने र ? लेलेपबाटै यहाँ आउन दुई दिन लाग्छ । गरिबीका कारण हेलिकोप्टर बोलाउन पनि सकेनन्, उनको निधन भयो ।’ शिक्षिका शेर्पाका भनाइमा ‘बच्चा जन्मिए पनि साथी नझर्दा घुन्साकै डोङ्गा शेर्पाले पनि तीन वर्षअगाडि ज्यान गुमाउनुपरेको थियो । नजिकमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा र हेलिकोप्टर चार्टर गर्न नसक्दा डोङ्गाको पनि ज्यान गएको हो ।’
स्थानीय कटुङिमा शेर्पाले पनि सन्तान जन्माउन नसकेर आफ्ना दुवै छोरी गुमाइन् । एक छोरीलाई जन्माएपछि मृत्यु भएकी जेठी छोरीको सन्तान हेरचार गर्दै आएकी उनले दुई सन्तान जन्माएपछि कान्छी छोरी पनि गुमाइन् । जेठी र कान्छीतर्फका तीन नातिनातिनाको हेरचार गर्दै आएकी उनको पनि गएको वर्ष मृत्यु भयो । हजुरआमाको मृत्यु पछि ती नातिनातिनालाई अरूकै घरमा काम गर्न राखिएको छ ।
‘मैले पनि एउटा बच्चा त यहीँ जन्माए तर धेरै गाह्रो भयो । बाँचिन्छजस्तो लागेको थिएन । दोस्रो बच्चाचाहिँ काठमाण्डु गएर जन्माएँ । अस्पतालमा त सजिलै हुँदो रहेछ,’ शिक्षिका शेर्पाले भनिन्, ‘यहाँ त सामान्य रुघा, खोकीको मात्र जांँच हुन्छ । त्यो पनि भरपर्दो स्वास्थ्यकर्मी छैनन् । प्रसूति सेवा नहुँदा त महिलाले ज्यानै गुमाउनुपर्छ ।’
लेलेप–८ की २१ वर्षीया छिरिङ डोङ्गा शेर्पाको बच्चा त जन्मियो सालनाल झरेन । ‘अब बाँच्छु भन्ने कल्पना पनि थिएन,’ आफ्नो प्रसव पीडा सम्झँदै शेर्पाले सुनाइन्, ‘बेथा लागेको सात दिनमा छोरी त जन्मिई, तर सालनाल झर्दै झरेन । परिवारले बल्लतल्ल हेलिकोप्टर मगाएर काठमाडौंको टिचिङ अस्पताल पु¥याए । त्यहाँ पनि उपचार गर्न समय ढिलो भइसकेको भन्दै डाक्टरहरूले उपचार गर्नै मानेका थिएनन् ।’ विगत सम्झँदै उनले भनिन्, ‘तलमाथि केही भए परिवारले जिम्वेवारी लिने भनेपछि मात्र डाक्टरले उपचार सुरु गरे र सालनाल झिकिदिए ।’ पिठ्युमा छोरी बोकेर खाना पकाउँदै गरेकी शेर्पाले आङ सिरिङ्ग हुने गरी भनिन्, ‘यो क्षेत्रमा सुत्केरी भएर बाँच्नु भनेको पुनर्जन्म पाउनुजस्तै हो । अलि सजिलो भइहाले बच्चा जन्मछन्, आमाहरू मर्छन् ।’ आफूलाई उपचार गर्न परिवारले चार लाख रुपैयाँँ खर्च गरेको उनले बताइन् । तीन लाख २० हजार रुपैयाँँ हेलिकोप्टर चार्टर गर्न र ८० हजार रुपैयाँ उपचार गर्न खर्च लागेको उनको भनाइ थियो ।
घुन्साकै लाटेना शेर्पाले पनि घरैमा दुईवटा बच्चालाई जन्म दिइन् । न त उनले गर्भवती जाँच गरिन् नत बच्चा जन्माउँदा स्वास्थ्यकर्मी कै सहारा लिन पाइन् । लाटेनाका दुवै छोरा–छोरीलाई पनि अहिलेसम्म तीनमहिने र नौमहिने कुनै पनि सुई लगाइएको छैन । घुन्साकै पासाङ छोक्पा शेर्पाले पनि एक छोरा र एक छोरीलाई घरैमा जन्म दिइन् । सरकारले प्रसूति सेवालाई सुरक्षित गराउन प्रोत्साहन भत्ता, स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरेको छ । हरेक वर्ष मातृमृत्युदर घटेको तथ्यांक पनि सार्वजनिक गरिन्छ । महिला नेतृ लीला बोखिम भन्छिन्, ‘यहाँको अवस्था हेर्दा लाग्छ सुगम ठाउँमा मातृमृत्युदर घटेको छ । मर्ने जति उत्तरी ताप्लेजुङका महिला मात्र हुन् ।’
स्वास्थ्य सेवाबाट वञ्चित महिलाको अवस्था र मृत्युलाई हेर्दा जिल्लाको सरकारी तथ्यांक भने अपत्यारिलो लाग्छ । आर्थिक वर्ष ०६८÷६९ मा एकजना, ०६९/७० मा एकजना र ०७०/७१ मा एकजना गरी तीन महिलाको सुत्केरीका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । यसलाई थाहा पाउने जिल्लाका एक कर्मचारी भन्छन्, ‘यस भेकमा जनस्वास्थका कर्मचारी धेरै समय कार्यालयमै बस्दैनन् । त्यसैले सही तथ्यांक नै आउँदैन ।’
आर्थिक वर्ष ०६८/६९ मा १२ मृत बच्चाको जन्म भएको छ भने सोही आवमा जन्मिएको २८ दिनभित्रमा तीनजना बच्चाको ज्यान गएको छ । यस्तै आर्थिक वर्ष ०६९/७० मा १५ मृत बच्चाको जन्म भएको छ भने सोही आर्थिक वर्षमा जन्मिएको २८ दिनमा ६ नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष ०७०/७१ मा १५ मृत बच्चा जन्मिएका छन् भने सोही आवमा शिशु जन्मिएको २८ दिनभित्रमा आठ नवजात शिशुको मृत्यु भएको कार्यालयका तथ्यांक सहायक हेमराज कठायतले जानकारी दिए ।
लेलेप गाविसमा रहेको इलाका स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह गर्न पनि मुस्किल रहेको चौकीका अहेब कुञ्जीलाल माझी बताउँछन् । ‘यहाँबाट घुन्सा पुग्न दुई दिन हिँड्नुपर्छ । सुत्केरी बिराम लागेका महिलालाई तत्काल कसरी सेवा
दिनु ?’ माझीले भने ‘स्वास्थ्य चौकी ढुक्कले छाडेर हिँड्ने कुरा भएन तर पनि सकेसम्म मैले उपचार सेवा दिने गरेको छु । कति आमाहरूको हातैले बच्चा निकाल्नुपर्छ । कत्तिको साथी नझर्दा हात हालेरै झिकेका केसहरू पनि छन् । र कतिपयचाहिँ साथी नझरेका कारण बच्चा जन्मने र आमा मर्ने समस्याचाहिँ छन् ।’ यो हिमाली क्षेत्रका ७५ प्रतिशत महिला स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँचबाहिरै सुत्केरी हुने गरेको अहेब माझी बताउँछन् ।
माझीले भने, ‘स्वास्थ्य संस्थाबाट नजिक रहेकाले २५ प्रतिशत महिलाले मात्र गर्भवती जाँच गराउने, सुई लगाउने र स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउने गर्छन् । बाँकी ७५ प्रतिशतले त घरमै बच्चा जन्माउँछन् । त्यसो गर्दा कतिको मृत्यु हुन्छ भन्न सकिन्न ।’
समस्या कतिसम्म चर्को छ भन्ने कुरा माझीको यो भनाइबाट स्पष्ट हुन्छ । ‘सुत्केरी बिराम लागेका महिलालाई अन्यत्र रेफर गर्नु अर्को पाप हुन्छ । डोकोमा बिरामी बोकेर कहिले अस्पताल पु¥याउने ? उनीहरूलाई बरू आफूले सकेसम्म उपचार गरेर बचाउनु उत्तम उपाय हुन्छ । रेफर गर्नु भनेको त तमोर नदीमा फाल्नुजस्तै हो । डोकोमा बोकेर चार–पाँच दिनमा अस्पताल पु¥याउँदा धेरैजना महिलाको मृत्यु भइसकेको हुन्छ,’ उनले भने, ‘समय–समयमा गर्नुपर्ने गर्भवती जाँच नहुनु, गर्भावस्थामा लगाइने सुई नलगाइनुले आमाहरूको ज्यान जाने हुन्छ । ’ जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कृष्णहरि सुवेदीले भने, ‘घुन्सामा स्वास्थ्य चौकी पनि छैन । त्यस क्षेत्रका नागरिकमा प्रजनन् स्वास्थ्यसम्बन्धी जनचेतना पनि छैन । ठूलो समस्या दुर्गम भएका कारण स्वास्थ्यकर्मी जानै मान्दैनन् ।’ अहिले ताप्लेजुङमा जिल्ला अस्पतालदेखि गाउँसम्मका स्वास्थ्य संस्थाहरूमा ५० प्रतिशत दरबन्दी रिक्त रहेको डा. सुवेदीले बताए ।
घुन्सा निमाविकी बाल शिक्षिका तेन्जिडोमा भन्छिन्, ‘स्वास्थ्य चौकी सपना भयो ।’ सदरमुकाम भन्दा २८ कोष टाढा र तीन हजार चार सय मिटर उचाइमा रहेको घुन्सामा पटक–पटक स्वास्थ्य संस्थाको माग भए पनि अहिलेसम्म व्यवस्था नहुँदा विशेषगरी आमा र बच्चाहरू बचाउन नसकिएको शिक्षिका तेन्जिडोमाको भनाइ यथार्थपरक लाग्छ ।
सञ्चारिका बुलेटिनबाट