
काभ्रे, १२ पुस– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेसी मोर्चा मिले पूर्वनिर्धारित मिति माघ ८ मै संविधान आउने दाबी गरेका छन् ।
क्रान्तिकारी पत्रकार संघ काभ्रेको जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै भट्टराईले दलहरु एक–अर्काप्रतिको आरोप–प्रत्यारोप छाडेर सहमति निर्माणमा गम्भीर भएर लाग्नुपर्ने बताए ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले आ–आफ्ना अडानबाट पछि हटेर सहमतिका लागि पहल गर्न दलहरुलाई आग्रह गरे ।
‘कसैले पनि मेरो गोरुको बाह्रैटक्क भनेजसरी अडान लिनुभएन’, भट्टराईले भने, ‘काँग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चा आ–आफ्नो अडानबाट लचिलो भए तोकिएकै समयमा संविधान आउँछ ।’
उनले सहमतिमै संविधान ल्याउनुको विकल्प नरहेको भन्दै निषेधको राजनीतिले मुलुकमा ठूलै दुर्घटना निम्तिने चेतावनी दिए ।