काठमाण्डु– गत महिना सम्पन्न दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलनका पाहुनालाई देखाउन काठमाण्डुका सडक पेटीमा रोपिएको बिरुवा भकाभक मर्न थालेका छन् ।
काठमाण्डु महानगरपालिकाले पाहुनालाई हरियाली देखाउन फुटपाथमा कतै गमलासहितको र कतै खाल्डो खनेर रातारात बिरुवा रोपेको थियो ।
सार्कका पाहुना ओहोर–दोहोर गर्ने सडक आसपास तीन कुनेदेखि माइतीघर हुँदै सोल्टी होटलसम्म सडकको फुटपाथमा रोपिएका विभिन्न जातका बोटबिरुवा उचित संरक्षणको अभावमा मर्न थालेका हुन् ।
कतिपय स्थानमा भने बटुवाले बिरुवाको मुन्टा र पात चुँडेको भेटिन्छ । कतैकतै त विरुवा नै उखेलेर लगेको पाइएको छ । सार्क सम्मेलनका पाहुना फर्केपछि सरकारले ‘संरक्षण गर्ने’ भन्दै केही दिन बिरुवामा पानी हाल्न लगाएको थियो ।
विरुवा सारेका स्थानबाट हिंड्नेहरुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी नै परिचालन गरियो । तर अहिले ती दुवै काम बन्द भएका छन् ।